सुर्खेत बहुमुखी क्याम्पस : संरचना निर्माणका लागि दाताकै भर !

१७ असार, सुर्खेत । सुर्खेत बहुमुखी क्याम्पस स्थापनाको ५० वर्ष भइसकेको छ । क्याम्पसमा विद्यार्थीको चाप वर्षेनी बढ्दो छ । तर पुराना भौतिक संरचनाहरु जीर्ण बन्दै गएका छन् । विद्यार्थीलाई पढ्न भवनको अभाव छ ।

यो क्याम्पस राज्यबाट सधैं उपेक्षामा परेको र आर्थिक अभाव झेल्दै आएको क्याम्पस प्रमुख माधवप्रसाद खनाल बताउँछन् । ‘क्याम्पसले थुप्रै आरोह–अवरोह भोग्दै शिक्षालाई विज्ञान र प्रविधिसँग जोड्नुपर्ने आवश्यकता छ,’ शुक्रबार दाताले बनाइदिएको शैक्षिक भवन हस्तान्तरण कार्यक्रममा प्रमुख खनालले प्रश्न गरे, ‘राज्यले सधैं उपेक्षा गर्छ । दाताकै भरमा कहिलेसम्म चल्ने ?’

‘सरकारलाई क्याम्पसको अवस्थाबारे पटक पटक ध्यानाकर्षण गरायौं तर सुनुवाइ भएन,’ प्रमुख खनालले भने, ‘अनि दातालाई गुहारेर चारकोठे भवन निर्माण गरेका छौं ।’

क्याम्पस प्रमुख खनालले भवनको उदघाटन एवं हस्तान्तरण कार्यक्रममा सहभागी हुन आएकी शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया कुमारी यादवलाई समेत क्याम्पसको अवस्थाबारे ध्यानाकर्षण गराए ।

५ वर्ष अघिसम्म ६४ जना कर्मचारी रहेको क्याम्पसमा हाल ३७ जना मात्र कर्मचारी छन् । ‘राज्यले वास्ता नगरेक कारण केही कर्मचारी घटायौं । तर आर्थिक अभाव कायमै रह्यो । क्याम्सपलाई सोचे अनुरुप अघि बढाउन सकिएको छैन,’ उनले भने । आर्थिक अभावकै कारण विद्यालयमा आवश्यक प्रविधिमय सामग्री समेत नभएको प्रमुख खनालले बताए ।

उद्घाटन भएको ‘भीम कमला शैक्षिक भवन’ वीरेन्द्रनगरकी कमला मल्लले आफ्ना स्वर्गीय पति भीमबहादुर मल्लको नाममा निर्माण गरिदिएकी हुन् । भवन ७८ लाख २८ हजार ८८२ रुपैयाँ लागतमा निर्माण गरिएको क्याम्पस प्रमुख खनालले बताए ।

मल्लले आफ्ना भाइ धर्मराज शाहीको पहलमा २५ लाख १ हजारको भीमकमला मल्ल छात्रवृत्ति अक्षय कोष समेत स्थापना गरेकी छिन् । क्याम्पसका लागि मल्लले १ करोड ३ लाख २९ हजार ८८२ रुपैयाँ प्रदान गरेकी हुन् । भवन निर्माणका लागि जग्गा भने क्याम्पसले नै उपलब्ध गराएको थियो ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button