कांग्रेसले विवादहरु पाँच दिनभित्र टुंग्याउने

राष्ट्रिय राजनीति

सत्तारुढ नेपाली कांग्रेसले  विभिन्न जिल्लामा देखिएको क्रियाशील सदस्यता विवाद पाँच दिनभित्र टुंग्याउने भएको छ। सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले भदौ १६/१९ मा हुने महाधिवेशनका लागि पाँच दिनभित्र सबै विवाद टुंग्याउने निर्णय लिएको हो।

बैठकपछि बोल्दै कांग्रेस केन्द्रीय सदस्य एवम् क्रियाशील सदस्यता छानबिन समिति संयोजक रमेश लेखकले पाँच दिनभित्र सबै विवाद मिलाएर पार्टीलाई निर्धारित समयमै महाधिवेशनतिर लैजाने निर्णय भएको जानकारी दिएका छन्।

‘कांग्रेसका पदाधिकारी, पूर्व पदाधिकारी र केन्द्रीय क्रियाशील छानबिन समितिका सदस्यहरूबीच आज बैठक भएको हो। क्रियाशील सदस्यता छानबिन समितिले प्रतिवेदन बुझाइसकेका छौँ’, उनले भने, ‘छानबिन समितिले नेताहरुकै  परामर्शबाट मापदण्ड बनाएको हो। समितिबाट समाधान हुन नसकेका विषय केन्द्रीय समितिले टुंग्याउने छ। केही विषयहरु केन्द्रीय नेतृत्वले, केन्द्रीय तहमै समाधान गरिनुपर्ने भनेका छौँ।’

नेताहरूसँगको छलफल र परामर्शपछि केन्द्रीय तहमा प्रस्तुत गरिएका विषयहरु निर्णय गर्ने गरी अघि बढ्ने उनले बताए। ‘महाधिवेशन भनेकै बेला गर्ने भनेका छौँ। नेताहरुले निर्णय गरेपछि मात्रै थप कुरा अगाडि बढ्ने छ’, उनले भने, ‘पाँच दिनभित्र क्रियाशील सदस्यतासहित सबै विवाद टुंग्याउने निर्णय भएको छ। त्यसपछि पार्टी महाधिवेशनमा अघि बढ्छ।’

क्रियाशील सदस्यता छानबिन समिति सदस्य प्रदीप पौडेलका अनुसार सप्तरी, बारा धनुषा ४, सर्लाही २, सिन्धुपाल्चोक र रसुवामा रहेको विवादबारे केन्द्रीय नेतृत्वले निर्णय गर्ने जानकारी दिए।

‘झण्डै सयवटा वडामा स्थगित भएको छ। चार प्रतिशत वडाहरूमा स्थगित भएको हुन सक्छ’, उनले भने, ‘अब महाधिवेशन सक्नै पर्छ। निर्वाचन समितिलाई छिटो सक्रिय नबनाए महाधिवेशन हुँदैन। १६/१९ भदौमै हुनुपर्छ महाधिवेशन।’

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button