कतै बाढी कतै उखरमाउलाे गर्मी (गुलरिया नगरपालिकामा ५ दिनको बिदा)

बिहीबार रातिको अविरल वर्षापछि आएको बाढीले गोरखाकाे पालुङटार नगरपालिका ९ को दुईवटा मोटरेबल पुल बगाएको छ । शेराबजार र सिस्नेरीबीचको चुतिखोलामा निर्माणाधीन पुल बाढीले पुरेको सिस्नेरीका कृष्ण थापाले बताए । ‘बन्दै गरेको पुलको नामनिसाना छैन,’ थापाले भने, ‘पुलको दुई भागमा पिल्लर उठाउने र नदी छेक्न जाली लगाउने काम हुँदै थियो ।’

पालुङटार नगरपालिका ९ विर्दीको चुती खोलामाथिको मोटरेबल पुलको पहुँचमार्ग पनि बाढीले बगाएपछि आवतजावत ठप्प बनेको छ । अबुवा-शेरा सडकखण्डअन्तर्गतको विर्दीको चुती खोलामाथिको पुल बिहीबार रातिको बाढीले बगाएको हो । पुलको पहुँचमार्ग बगाएसँगै शुक्रबार बिहानबाट आउजाउ हुन नसकेको पालुङटार नगरपालिका-९ का वडाध्यक्ष भेजराज पाण्डेले बताए । ‘शाखा बाटोहरू त कति ठाउँमा भत्किएर बिग्रिएका छन्; हेरिसाध्यै छैन,’ उनले भने ।

त्यस्तै पालुङटार नगरपालिका-६ केउरेनीका केशरबहादुर थापाको घर पहिरोले बगाएको छ । ढुङ्गा र सिमेन्टले बनेको दुईकोठे घर पूर्ण रुपमा क्षति भएको डीएसपी लिलाराज लामिछानेले बताए । पहिरोले घर बगाएका केशरबहादुरका ६ परिवार पाल टाँगेर बसेका छन् । त्यस्तै केउरेनका वीरबहादुर राना र ज्योती रानाको घर पनि पहिरोको उच्च जोखिममा परेको छ ।

त्यस्तै पहिरोले बाह्रकिलो बारपाक सडक खण्ड पनि अवरुद्ध बनेको डीएसपी लामिछानेले बताए । बाह्रकिलो बारपाक सडकखण्डअन्तर्गत बिरालेझ्याङमा पहिरो खस्दा सडक अवरुद्ध बनेको हो ।

पालुङटार नगरपालिका-९ मा मात्र करिब ३ हजार रोपनी खेतमा बाढी पसेको वडाध्यक्ष पाण्डेले बताए । चुतिखोलाको तटीय क्षेत्र आसपासको फाँटमा पसेको बाढीले मकैबाली र चैते धान खेती पनि सखाप बनाएको उनले बताए । छब्बिसे, खहरे, विर्दी फाँट क्षेत्रका किसानका खेतमा बाढी पसेको हो । भित्र्याउने बेला भएको चैते धान बाढीले पुरेपछि किसान चिन्तित बनेका छन् । ‘कटान गरेर पनि लगेको छ; धान र मकै खेती पाँगो माटोले पुर्‍यो,’ उनले भने ।(कान्तिपुर अनलाइनमा खबर प्रकाशित छ)

यसैबीच तराईमा उखरमाउलाे गर्मी बढेपछि बर्दिया जिल्लाको गुलरिया नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले ५ दिनको गर्मी विदा दिएको छ । भूमण्लीय उष्णीकरणका कारणले पठनपाठन सञ्चालन गर्न कठिनाई भएको जानकारी प्राप्त भएकाले नगरप्रमुख स्तरीय निर्णयबाट ५  दिनको बिदा दिइएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

हेर्नुहोस् विज्ञप्ति
Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button