घोषणपत्र हैन गरौँ कामको समीक्षा
आसन्न स्थानीय निर्वाचन

संघीयताको महत्वपूर्ण पक्ष भनेको नै स्थानीय तहको निर्वाचन हो । नेपालको संविधानको अनुसूची ८ अनुसारका अधिकारहरूको अधिकतम उपयोग गर्दै समृद्ध समाजको निर्माणका लागि स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधीहरूको अहम् भूमिका रहेको हुन्छ । वि.सं. २०७३ सालमा सम्पन्न भएको स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधीहरूको पदावधि समाप्त हुनै लाग्दा स्थानीय निर्वाचनको कार्य सम्पन्न गर्नका लागि कानुनी रुपमा नै प्रकृया अगाडि बढेको छ । यसका लागि निर्वाचन आयोगले आफ्नो कार्यको थालनी गरिसकेको छ । पतपत्र छपाईका साथै निर्वाचनका लागि आवश्यक पर्ने सामग्रीहरू खरिद तथा तयारीका लागि आवश्यक प्रकृया अगाडि बढाइसकेको छ । यसैगरी सुरक्षा व्यवस्थापनका साथै अन्य पक्षहरुमा महत्वपूर्ण मानिने म्यादि प्रहरीको भर्नाको कार्यक्रमका लागि एक लाख म्यादी प्रहरी भर्नाको प्रकृया अगाडि बढाइसकेको छ ।
मुलुकमा विगतका अभ्यास तथा घटनाक्रहरुका कारणले विभिन्न समयमा देशमा महत्वपूर्ण कार्यक्रमहरु स्थागित तथा समय सिमा सार्ने काम नभएको भने हैन तर अब यति भैसकेपछि स्थानीय निर्वाचनको कार्यक्रम पनि तोकिएको समयावधिमै सम्पन्न हुनेमा आशावादी हुन सकिन्छ । यसका लागि दलहरु दर्ताको प्रकृया पनि सम्पन्न भैसकेको छ । यति मात्र नभएर अब स्थानीय तहहरूमा जनताको मत लिनका लागि रस्साकस्सी पनि शुरु भैसकको अवस्था छ । खासमा यस प्रकारका गतिविधीहरु पछिल्लो समयमा पार्टी प्रवेशका कार्यक्रमहरुले जनाइरहेको छ ।
कहिँ कतै त स्वस्फूर्त रुपमा नै उम्मेदवार घोषणा गरी सार्वजनिक गर्ने कार्य समेत देखिएको छ । अब यसैगरी केही दिनमै विभिन्न राजनेतिक दलहरुले पनि आ–आफ्ना दलहरुका तर्फबाट उम्मेदवार घोषणा गर्ने नै छन् । अब भने आम जनताले मत दिनु अघि राम्ररी विचार गर्नु पर्ने दिन आएको छ । मत दिनु अघि दलका नेतृत्वकर्ताहरुले विगतमा गरेका असल कार्यहरुको मूल्याङ्कन गरेर मात्र मतदान गर्नु पर्ने हुन्छ । अब भने घोषणापत्र भन्दा पनि विगतमा जनप्रतिनिधीहरुले गरेका कार्यहरुबाट उनीहरुलाई मूल्याङ्कन गरी मत दिने नदिने वा कसलाई दिने भन्ने कुराको निक्र्योल गर्नु पर्ने छ । यसका लागि अब जनता भने सचेत भइसकेका छन् ।
आफ्नो स्थानीय तहमा विगतका दिनमा जनप्रतिनिधीहरुले विभिन्न क्षेत्रमा गरेको उल्लेखनीय कार्यहरु वा कुनै कमी कमजोरीहरू भएमा तीनीहरुको समिक्षा तथा मूल्याङ्कन गरेर नै कुनै लोभ लालच वा दवावमा नपरीकन मतदान गर्ने समय फेरि आएको छ ।