शिक्षकहरुका लागि आइसिटी तालिम
सूचना प्रविधि

एक्सन एड नेपाल र कमैया महिला जागरण समाज, नेपालको साझेदारीमा सञ्चालित स्थानीय अधिकार कार्यक्रम अन्तर्गत आफ्नो कार्यक्षेत्रका लक्षित विद्यालयमा कार्यरत शिक्षकहरुका लागि तीन दिने आइसिटी तथा अनलाइन मिडिया सम्बन्धी तालिम सोमबारदेखि बर्दियाको गुलरियामा शुरु गरिएको छ ।
तालिममा कार्यक्षेत्रका लक्षित १२ ओटा विद्यालयहरुका १९ जना शिक्षकहरुको सहभागिता रहेको छ । भौतिक रुपमा नै सञ्चालन गरिएको तालिममा पूर्ण रुपमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइको समाजका कार्यक्रम अधिकृत जीतराम चौधरीले बताउनुभयो ।
कार्यक्रमको शुरुवातमा राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम दोस्रो जिल्ला संयोजक रामकृष्ण हुमागाईंले सहभागीहरुलाई शुभकामा दिनुका साथै वर्तमान परिस्थितीका कारण बालबालिकाहरुको सिकाइको स्तर खस्किएकोमा चिन्ता व्यक्त गर्नुहुँदै सरकाले तयार गरेका वैकल्पिक सिकाइ सामग्रीहरुको प्रयोग गर्नका लागि अभिप्रेरित गर्नुभयो ।
वर्तमान अवस्था र आउँदो दिनमा शिक्षकहरुले आफूलाई प्रविधिमैत्री बनाउँदै डिजिटल शैक्षिक सामग्रीहरुको निर्माण गरी अध्यापन गराउन तथा आवश्यक पर्ने सूचना तथा सञ्चारका सिपहरु हासिल गर्न सक्ने गरी अत्यावश्यक सूचना प्रविधिको ज्ञान दिनका लागि आयोजना गरिएको तालिममा प्रविधिमैत्री शिक्षक समाज, नेपालका केन्द्रीय प्राविधिक समितिका सदस्य प्रभात सुवेदी र तालिम महाशाखाका सदस्य प्रर्शुराम चौधरीले सहजीकरण गरिरहनुभएको छ ।