प्रश्नाको परिकल्पना द्वित्तीय पुरस्कारबाट पुरस्कृत (कविताको भिडियो सहित)

सूचना र प्रविधि

सुन्दर सहरहरू झल्याङ्मल्याङ तार हैन
सबै वायरलेस वा अण्डरग्राउण्ड ।
मति भ्रष्ट्रहरु, नेपाल आमाको छातीमा
प्रहार गर्नेहरुलाई ठाउँको ठाउँ
कर्याप्प पार्नेछ डिजिटल पप्पीले
पुर्याउनेछ कोठरीमा
लगाउने छ ठेगान ।

माथिका पंक्तिहरु बर्दियाकी बाल कवयित्री प्रश्ना सुवेदीले रचना गरेको कविताको पंक्ति हुन् । “माइ डिजिटल नेपाल माई इम्याजिनेसन” शीर्षकमा लिभिङ विथ आइसिटी नामक संस्थाले आयोजना गरेको देशव्यापी परिकल्पनाका लागि आह्वान गरेका निवन्ध, कविता, चित्रकला, भिडियो एनिमेसनमध्ये बर्दियाबाट सहभागी भएकी प्रश्ना सुवेदीको कविताले द्वित्तीय स्थान प्राप्त गरेको छ ।
काठमाडौंको सोल्टि होटलमा गत शुक्रबार आयोजना गरिएको भव्य कार्यक्रममा उनी सो विधामा पुरस्कृत भएकी हुन् । गुलरिया स्थित श्री बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत सुवेदीले उक्त प्रतियोगितामा द्वित्तीय स्थान प्राप्त गरेवापत नगद रु. ५० हजार सहित प्रमाणपत्र, ट्रफी तथा प्रायोजक माइ सेकेण्ड टिचर, डिस होम लगायतबाट गिप्mटहरु प्राप्त गरेकी छिन् ।
सानैदेखि कविता तथा वाककलामा रुची राख्ने प्रश्ना सुवेदीले जिल्लास्तरीय, प्रदेश तथा राष्ट्रव्यापी विभिन्न प्रतियोगिताहरुमा सफलता प्राप्त गर्नुका साथै शैली थिएटर संस्थाले गत वर्ष आयोजना गरेको अन्तर्राष्ट्रिय बाल कविता महोत्सवमा प्रथम स्थान हात पार्न सफल भएकी थिइन् । उनको यो सफलताले बर्दिया र बर्दियालीको गौरव बढेको छ । यसका अलावा उनी अध्ययन, चित्रकला तथा भाषिक सिपको विकासमा रुची राख्दछिन् ।
उनको द्वित्तीय स्थान प्राप्त गरेको कविता यस प्रकार रहेको छ :-

‘पूरा होस् मेरो सपना : डिजिटल नेपालको’

सपना हरिया
तर, क्रन्दन सहेर
निस्किरहेछन् ढुङ्गाको कापबाट
कोशी, गण्डकी अनि कर्णालीका तटहरूमा ।

बन्द कोठाका ढोकाहरू खुल्नासाथ
‘भिटामिन डि’ युक्त
कलिला आभाहरूले
मलाई सुटुक्क स्वागत गरुन् ।

स्वसावधानीका साथ
चिल्ला सडकहरूमा आफ्नै

अनि स्वाभाविक गतिमा
हिमाल, पहाड अनि तराईका राजमार्गहरूमा
गुडिरहुन् सवारीहरू
न त कुनै त्रास न त कतै दुर्घटना ।

सम्पूर्ण नागरिक सेवाहरु
घरमै बसी बसी
न त कतै भीड
न त कतै किलोमिटरका लाइनहरू
आहा ! लाइनमुक्त मेरो नेपाल ।

म पढ्ने विद्यालय, म हिँड्ने बाटो
मैले सिक्ने विधि, मैले सोच्ने तरिका
डिजिटल अनि
स्मार्ट स्मार्ट स्मार्ट
मात्र स्मार्ट !

सडकमा सवारीको नियन्त्रण
अब ट्राफिक दाजु दिदीहरूले हैन
चिटिक्क परेको रोबोटले
हातमा रिमोट लिएर स्विचको भरमा ।

सुन्दर सहरहरू झल्याङ्मल्याङ तार हैन
सबै वायरलेस वा अण्डरग्राउण्ड ।
मति भ्रष्ट्रहरु, नेपाल आमाको छातीमा
प्रहार गर्नेहरुलाई ठाउँको ठाउँ
क¥याप्प पार्नेछ डिजिटल पप्पीले
पु¥याउनेछ कोठरीमा
लगाउने छ ठेगान ।

स्मार्ट विद्यार्थीहरू
मदानीरुपी ज्ञानका पोराहरू घुमाउँदै
निकाल्नेछन् मेधावी नौनीका ताजा डल्लाहरू
हुने छैनन् कोही पनि फूर्सदिला ।

एउटा स्विचको भरमा
पापीहरू लाग्नेछन् ठेगानमा
निर्धक्क बाँच्न पाउनेछन्
निर्मला अनि भागरथीहरू !

प्रविधिकै भाकामा
बज्नेछन् मुर्छनायुक्त सरगमहरू
अलङ्कार सहित गाउनेछन् मिठा राग
प्राविधिक ओस्तादहरू ।

खेर जाने छैनन् हावा, पानी
अनि प्रकृतिका अनमोल उपहारहरू
कुद्नेछन् किलोबाइट, मेगाबाइट
अनि गिगाबाइटका गतिमा
हेर्नेछ विश्वले नेपालको डिजिटल प्रकृति
छक्क परेर !

देशप्रेमको भाव छचल्किएर
फर्किनेछन् होनाहार नेपाली
युवा वैज्ञानिकहरू
बिर्सनेछन् नासा
यतै स्थापित हुनेछन्
खासा अनुसन्धान केन्द्रहरू ।

आत्मसाथ हुनेछन् सूर्यका किरणहरु
भरिने छन् प्राण पहाडी पवनहरुले
दिइरहनेछन् निरन्तर उर्जा
इन्धनका रुपमा ।

सामान्य जीवनशैलीमा पनि
गुणस्तरीय अनि स्मार्ट जीवनहरू
आहा ! कति लोभ लाग्दा दृश्यहरु
भित्र भित्रै आल्हादित हुन्छु म ।

जोड जोडले चिच्याउँछु
पूरा होस् मेरो सपना ः डिजिटल नेपालको !
फेरी पनि एकपटक चिच्याउँछु
पूरा होस् मेरो सपना: डिजिटल नेपालको !

वाचनको भिडियो हेर्नुहोस् :-

प्रतियोगिताको प्रथम पुरस्कार सेन्ट जेभियर्स कलेज, माइतीघरमा १२ कक्षामा अध्ययनरत नेहा गिरीले हात पारेकी छन् । उनले ‘मेरो डिजिटल नपाल, मेरो परिकल्पना’ शीर्षकको निबन्ध प्रतियोगिताको सर्वोकृष्ट रचना हुँदै एक लाख रुपैयाँ जितेकी हुन् । दोस्रो हुनेमा बगलामुखी राधाकृष्ण थारु  माध्यमिक विद्यालय गुलरिया बर्दियाकी प्रश्ना सुवेदी र रत्न राज्य माध्यमिक विद्यालय, बानेश्वरबाट यस वर्ष एसइई दिएका ऋदम भेटवाल रहेकी छन् । प्रश्नाले ‘पूरा होस् मेरो सपना : डिजिटल नेपालको’ शीर्षकमा कविता लेखेकी थिइन भने ऋदमले ‘मेरो सपनाको डिजिटल नेपाल’ निबन्ध लेखेकी थिइन । उनीहरूले जनही ५० हजार नगद पुरस्कार पाएका छन् । तेस्रो हुने चार जनामा मनकामना माध्यमिक विद्यालय बिर्तामोड, झापाबाट एसइई दिएका असिम डङ्गोल, त्रि–पद्म विद्याश्रम माध्यमिक विद्यालय पुलचोक, ललितपुरबाट एसईई दिएका अनिश श्रेष्ठ, बुढानिलकण्ठ स्कुल, काठमाडौँमा कक्षा १० मा अध्ययनरत उद्धव ठाकुर र बृहस्पति विद्यासदन, नक्साल काठमाडौँमा कक्षा ७ मा अध्ययनरत विशेष्ता चौधरी रहेका छन् । असिमले ‘डिजिटल नेपाल : एक अमुक सपना’ शीर्षकको कविता लेखेका थिए भने अनिषले ‘सुन्दर शान्त विशाल, मेरो परिकल्पनाको डिजिटल नेपाल’ शीर्षकको भिडियो प्रिजेन्टेशन बनाएका थिए । त्यस्तै, उद्धवले ‘वे टु डिजिटल नेपाल’ शीर्षकको निबन्ध र विशेषताले ‘माई डिजिटल नेपाल’ थिममा आर्ट गरेकी थिइन ।तेस्रो हुने सबै जनाले जनही नगद २५ हजार रुपैयाँ प्राप्त गरेका छन् । त्यसैगरी, प्रतियोगितामा विद्यार्थीको एक समूहले ‘डिजिटल र समृद्ध नेपाल’ शीर्षकको फ्रेमवर्क तयार गरेका थिए । इभ्यालुएसन प्यानलले यस फ्रेमवर्कलाई विशेष सम्मान गर्ने निर्णय स्वरुप काठमाडौं मोडल सेकेन्डरी स्कुल, बागबजारका प्रशन्नकुमार रेग्मी, शशांक न्यौपाने, आर्या प्रसाईँ र अमिम सिंहलाई ‘स्पेसल मेन्सन पुरस्कार’बाट सम्मानित गरिएको छ । उनीहरूले ५१ हजार एक सय ५१ रुपैयाँ राशीको विशेष पुरस्कार हात पारेका छन् । यसबाहेक विजेताले स्पोन्सर कम्पनीहरूबाट आकर्षक अफरहरु पनि प्राप्त गर्ने छन् । डिसहोमले सम्पूर्ण विजेतालाई एक वर्षको इन्टरनेट र शीर्ष प्रायोजक माई सेकेण्ड टिचरले विशेष गिफ्ट प्रदान गरेको छ । नेपालमै पहिलो पटक सूचना तथा सञ्चार प्रविधिका विषयमा नयाँ पुस्तालाई जागरूक गर्ने उद्देश्यले ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ शीर्षकमा गत असार १ गतेदेखि असार ३१ गतेसम्म उक्त प्रतियोगितामा भाग लिन आह्वान गरिएको थियो । प्रतियोगितामा निबन्ध, कविता, लेख, चित्र, भिडियो प्रिजेन्टेशन मार्फत ३५० बढीको सोच तथा परिकल्पना प्राप्त भएका थिए । प्रतियोगितामा सहभागी ३५० बढी परिकल्पनाबाट उत्कृष्ट छनोट गर्न ११ जनाको मूल्याङ्कन समिति बनाइएको थियो । मूल्याङ्कन समितिका सदस्यहरूले प्रत्येक रचनालाई मूल्याङ्कन गरेर सर्ट लिस्ट गरेका थिए । मूल्याङ्कन समितिको विभिन्न चरणको छनौट  प्रक्रियाबाट उत्कृष्ट ८ रचनालाई पुरस्कार वितरण गरिएको हो ।

विजेतालाई राष्ट्रिय सभाका सदस्य तथा दिगो विकास तथा सुशासन समितिका सभापति तारादेवी भट्ट, प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुष्ठ अर्याल, शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयका सचिव सुरेश आचार्य, पूर्व मन्त्री गणेश शाहलगायतले पुरस्कार प्रदान गरेका थिए ।विद्यार्थीका उत्कृष्ट रचना तथा सोच लिभिङ विथ आइसिटी म्यागजिन र आइसिटी समाचार डटकममा क्रमशः प्रकाशन गरिनेछ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button