चेलीको दिनरात कस्तो छ ? : अञ्जु सापकोटा ‘अनु’
गजल

गजल
मन पर्यो परेन भन्नुहोस् न मेरो बात कस्तो छ
दिनु भएन समीप बस्न बुझेँ औकात कस्तो छ ।
बारम्बार भन्नू हुन्छ महोदय आफै धारो नछुनु
कारण भन्नू भएन मानवतामा जात कस्तो छ ।
आमा सधै भन्नुहुन्थ्यो दैवले नै अन्याय गर्यो
बुझ्न सकिन त्यो मुर्ती बनाउने हात कस्तो छ ।
आजपनि सबेरै मन्दिरको ढोकाबाट फर्किए
हेर्नुहोस् त मान्छे मान्छेमा पक्षपात कस्तो छ ।
समाजमा समान अधिकार भन्दै हिड्नु भयो
भन्नुहोस् बलत्कृत चेलिको दिनरात कस्तो छ ।
अञ्जु सापकोटा ‘अनु’
मधुवन ६, बर्दिया