‘गलत निर्णयले दिनगन्ती सुरु’ : ओली रिहाको माग गर्दै एमाले सचिव बस्नेतको चेतावनी

काठमाडौँ — पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउविरुद्ध नेकपा एमालेले थप आन्दोलनको चेतावनी दिएको छ। एमाले सचिव महेश बस्नेतले बालेन सरकार र गृहमन्त्री सुदन गुरुङलाई सम्बोधन गर्दै ‘पूर्वाग्रह र प्रतिशोधको मूल्य अत्यन्त महँगो हुने’ बताएका छन्। उनले अध्यक्ष ओलीलाई अविलम्ब रिहा गर्न माग गर्दै चेतावनी दिएका छन्, ‘तिमीहरूको गलत निर्णयले दुईतिहाइको सरकारले शपथ लिएको दिनदेखि नै दिनगन्ती सुरु भइसकेको छ।’

बस्नेतले सामाजिक सञ्जालमार्फत जारी गरेको वक्तव्यमा प्रश्न गरेका छन्, ‘के देशलाई गृहयुद्धतर्फ धकेल्न खोजिएको हो? देशलाई पाकिस्तानी, बंगलादेश वा युक्रेन–कुन मोडेलतर्फ लैजाँदैछ?’ उनले हिजो सिंहदरबार, सर्वोच्च अदालतलगायतका सरकारी सम्पत्तिमा तोडफोड र आगजनी गर्ने बालेन्द्र शाह र सुदन गुरुङद्वारा परिचालित अराजक समूहहरूलाई सरकारले दमन गरेको भन्दै अहिलेको शान्तिपूर्ण आन्दोलनमा भने दमन गरिएकोप्रति प्रश्न उठाएका छन्।
एमाले सचिवले तोडफोड भएका गाडीहरूको क्षतिपूर्तिबारे छलफल गर्ने, दुईतिहाइको दम्भ बन्द गर्ने, घाइतेहरूको तुरुन्त उपचार गर्ने र गिरफ्तार गरिएकाहरूलाई अविलम्ब रिहा गर्ने माग गरेका छन्।
उनले चेतावनी दिएका छन्, ‘यही अवस्था रहेमा भोलि १२ बजे पार्टीका देशभरका जिल्ला सदरमुकामहरूमा हुने आन्दोलन अझ सशक्त र प्रतिरोधात्मक बन्नेछ।’ साथै, आज गरिएको प्रहरी दमनविरुद्ध भोलि पनि माइतीघर मण्डलामा जनसंगठनहरूको आन्दोलन निरन्तर रहने पनि उनले जनाएका छन्।
यसअघि नै एमालेले चारबुँदे कार्यक्रम सार्वजनिक गर्दै आन्दोलनको घोषणा गरिसकेको छ। पक्राउको विरोधमा आज (चैत १४ गते) दिउँसो ३ बजे देशभरका जिल्ला सदरमुकामहरूमा जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन भइरहेको छ भने भोलि (चैत १५ गते) दिउँसो १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीको कार्यालयमा विरोध पत्र बुझाउने कार्यक्रम रहेको छ। एमालेको यो चेतावनीले आगामी दिनमा राजनीतिक तापक्रम थप उच्च बनाउने निश्चित देखिन्छ।





