२३ बैशाख २०८३, बुधबार

‘प्रतिशोधको आशंका’ : ओली–लेखक पक्राउबारे पूर्वमन्त्री देव प्रसाद गुरुङको गम्भीर ध्यानाकर्षण

काठमाडौँ — नवगठित सरकारले भदौ २३ र २४ को घटनासम्बन्धी छानबिन आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने नाममा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको घटनाप्रति नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वमन्त्री देव प्रसाद गुरुङले गम्भीर ध्यानाकर्षण गराएका छन्। उनले यो कदमले ‘राजनीतिक प्रतिशोध’ को आशंका पैदा गरेको बताएका छन्।

पूर्वमन्त्री गुरुङले आफ्नो फेसबुकमा पोस्ट गर्दै भनेका छन्, ‘सरकारको गिरफ्तारीको कार्यशैली हेर्दा कतै राजनीतिक प्रतिशोध त होइन भन्ने आशंका पैदा भएको छ।’ उनले राजनीतिक रूपमा कुनै पनि प्रकारको प्रतिशोध तथा निषेध हुन नदिन र मुलुकलाई अस्थिरता तथा द्वन्द्वको दिशामा जान नदिन सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

गुरुङले सरकारबाट त्यसप्रकारका कदमहरू चाल्दा संवैधानिक मान्यता, प्रचलित कानुन र विधिको शासनको कडाइका साथ अवलम्बन गरियोस् भन्दै सरकारसँग जोडदार माग पनि गरेका छन्। उनले मुलुकलाई अस्थिरता र द्वन्द्वतर्फ धकेल्न नहुने स्पष्ट पारेका छन्।

सरकारले शपथ लिएको २४ घण्टाभित्रै ओली र लेखकलाई पक्राउ गरेपछि विपक्षी दल तथा विभिन्न राजनीतिक व्यक्तित्वहरूले यसलाई ‘प्रतिशोधको राजनीति’ भन्दै विरोध जनाइरहेका छन्। पूर्वमन्त्री गुरुङको यो अभिव्यक्तिले राजनीतिक तापक्रम अझ बढाउने देखिन्छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button