२३ बैशाख २०८३, बुधबार

छिमेकी सद्भाव : चिनियाँ प्रधानमन्त्रीको बधाइ र सहकार्यको दीर्घकालीन प्रतिबद्धता

काठमाडौँ — चीनका प्रधानमन्त्री लि छ्याङले नवनियुक्त नेपाली प्रधानमन्त्री बालेन्द्र शाहलाई औपचारिक बधाइ सन्देश पठाउँदै दुई देशबीच रहेको पुरातन मित्रता र भावी सहकार्यको बाटोलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ।

प्रधानमन्त्री लिले सन्देशमा नेपाल सरकारको शासन सञ्चालनमा चीनको निरन्तर समर्थन रहेको स्पष्ट पार्दै नेपालको स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अखण्डताको संरक्षणमा चीन सधैँ साथमा रहने प्रतिबद्धता दोहोर्याउनु भएको छ। यो सन्देशले दुई छिमेकी मुलुकबीचको विश्वास र आपसी सम्मानलाई थप बलियो बनाएको छ।

चिनियाँ प्रधानमन्त्रीले आफ्नो सन्देशमा चीन र नेपाल हिमाल र नदीले जोडिएका परम्परागत छिमेकी रहेको स्मरण गर्दै दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७१ वर्षको लामो यात्रामा शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तलाई नै आधार मानेर द्विपक्षीय सम्बन्धलाई निरन्तरता दिँदै आएको उल्लेख गर्नुभयो।

प्रधानमन्त्री लि छ्याङले प्रधानमन्त्री शाहसँग मिलेर चीन–नेपालबीच उच्चस्तरीय रूपमा बेल्ट एण्ड रोड सहकार्यको संयुक्त निर्माणलाई थप प्रभावकारी ढङ्गले अघि बढाउने र विभिन्न क्षेत्रमा विद्यमान सहयोगलाई अझ गहिरो बनाउँदै दीर्घकालीन रणनीतिक साझेदारीलाई विकास र समृद्धितर्फ उन्मुख गराउने इच्छा व्यक्त गर्नुभएको छ। यसले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुग्ने संकेत गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button