‘लोकरञ्जनवाद र राजनीतिक प्रतिशोधको पराकाष्ठा’ : ओली–लेखक पक्राउविरुद्ध नेविसंघको कडा आपत्ति

काठमाडौँ — बालेन्द्र शाह नेतृत्वको सरकारले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि नेपाल विद्यार्थी संघ (नेविसंघ) ले कडा आपत्ति जनाएको छ। शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै संघले सरकारको यो कदमलाई ‘लोकरञ्जनवाद र राजनीतिक प्रतिशोधको पराकाष्ठा’ भनेको छ।
जेनजी आन्दोलनका क्रममा भएको घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही रहेको नेविसंघको ठहर छ। आयोगका अध्यक्षको पूर्वनिर्धारित धारणाअनुसार नै प्रतिवेदन तयार पारिएको दाबी गर्दै संघले नैतिक वा राजनीतिक जिम्मेवारी र फौजदारी दायित्वलाई एउटै डालोमा राखेर पक्राउ गर्नु विधिको शासन विपरीत भएको स्पष्ट पारेको छ।
विज्ञप्तिमा विशेष गरी मुलुकी अपराध संहिताको दफा १८१ र १८२ अन्तर्गत अनुसन्धान गर्ने बहानामा प्रत्यक्ष कार्यकारण सम्बन्ध विना नै पक्राउ गरिनु फौजदारी कानुनको मूल सिद्धान्त विपरीत रहेको उल्लेख छ। सरकारले मुलुकी फौजदारी संहिताको दफा ९ (६) को व्यापक दुरुपयोग गरेको आरोप लगाउँदै नेविसंघले आन्दोलनका क्रममा भएका आगजनी, तोडफोड र लुटपाटमा संलग्नहरूको जबाफदेहिता कहाँ भन्दै प्रश्न समेत गरेको छ।
नेविसंघले यस विषयलाई लोकतन्त्र, विधिको शासन र न्यायको सिद्धान्तको परीक्षाको रूपमा हेरिएको बताउँदै सरकारको निर्णय तत्काल फिर्ता लिन र पक्राउ परेकाहरूलाई रिहा गर्न माग गरेको छ। संघले आगामी दिनमा यस विरुद्ध थप आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गर्ने चेतावनी समेत दिएको छ।





