२३ बैशाख २०८३, बुधबार

‘देश जलाउन जति सजिलो, चलाउन उति सजिलो छैन’ : कार्की आयोगको प्रतिवेदन खारेजीको माग गर्दै वरिष्ठ पत्रकार त्रिपाठी

काठमाडौँ — वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीले कार्की आयोगको प्रतिवेदन खारेज गरी निष्पक्ष जाँचबुझ आयोग गठन गर्न माग गर्दै तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। उनले अध्यारो कोठामा तयार पारिएको षड्यन्त्रको पुलिन्दा भनेर प्रतिवेदनको आलोचना गर्दै भदौ २३ र २४ का घटनामा संलग्न सबै पक्षको पहिचान गरी कानूनी कारबाहीको सिफारिस गर्नुपर्नेमा जोड दिएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै त्रिपाठीले लेखेका छन्, ‘देश जलाउन जति सजिलो, चलाउन र बनाउन हुँदैन बाबु हो ! संगीत र स्वर विनाको र्याप ठोक्न जस्तै देश चलाउने कामलाई ठानिएको हो भने तिमी जति भ्रममा कोही छैनौ भनेर बुझ्नुपर्ने हुन्छ।’

उनले कार्की आयोगको प्रतिवेदनलाई ‘अध्यारो कोठामा तयार पारिएको षड्यन्त्रको पुलिन्दा’ को संज्ञा दिँदै यसलाई खारेज गरी टुकुचामा बगाइदिनु उत्तम हुने बताए। वरिष्ठ पत्रकारले निष्पक्ष जाँचबुझ आयोग गठन गरी निम्न विषयहरूमा छानबिन गर्नुपर्ने माग गरेका छन् :

· भदौ २३ गते कलिला भाइबहिनीलाई ड्रेससहित निषेधित क्षेत्र तोड्न लगाउनेहरूको पहिचान
· ती अबोध युवायुवतीलाई गोली प्रहार गरी हत्या गर्नेहरू
· पानी भन्दै नसालु पदार्थ पिलाउनेहरू
· राष्ट्रको सम्पदा जलाउन दुरुत्साहन गर्नेहरू
· जेल फोडेर भाग्ने र भगाउनेहरू
· देशको मुटु जल्दा दमकल नपठाउनेहरू

त्रिपाठीले भदौ २३ र २४ का घटनामा संलग्न सबैको पहिचान गरी कानूनी कारबाहीको सिफारिस गरिनुपर्नेमा जोड दिए। उनले आफ्नो धारणालाई ‘जय मातृभूमि’ भन्दै समापन गरेका छन्।

यसअघि पनि विभिन्न पत्रकार, बुद्धिजीवी, र राजनीतिक व्यक्तित्वहरूले कार्की आयोगको प्रतिवेदन एकपक्षीय र पूर्वाग्रही भएको भन्दै आलोचना गरिसकेका छन्। वरिष्ठ पत्रकार त्रिपाठीको यो अभिव्यक्तिले प्रतिवेदनको वैधानिकतामाथि उठेका प्रश्नहरूलाई थप बल पुग्ने देखिन्छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button