‘राष्ट्रघाती’ भन्नेलाई ब्यारेकको सुरक्षा : कार्कीको पुरानो पोस्ट र नयाँ परिवेश

काठमाडौँ — भदौ २३ र २४ का घटनासम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलाई असुरक्षा बढेकाले उनको सुरक्षाका लागि नेपाली सेनाको ब्यारेकमा रहने व्यवस्था मिलाउन थालिएको छ। सेनाको टोलीले गुण्डुस्थित कार्की निवासको रेकी गरी फर्किसकेको छ। उनकी आमालाई ह्विलचियरमा राखेर लैजानुपर्ने भएकाले बाटोको पूर्वाधारसमेत हेरेर सेना फर्किएको बुझिएको छ।
तर, यो घटनाक्रमले नेपाली राजनीतिमा अर्को चर्चालाई समेत ताजा बनाएको छ। आयोगले छानबिन शुरु गर्नु अगाडि नै कार्कीले सामाजिक सञ्जालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध ‘थुनामा राखेर अनुसन्धान गर्ने, विमानस्थल बन्द गर्ने, हेलिकप्टर चलाउन नदिने’ जस्ता उत्तेजनापूर्ण स्टाटस लेखेको विषय सार्वजनिक भइसकेको छ। भदौ ९ गते नै कार्कीले ‘उनीहरूलाई थुनामा राखेर अनुसन्धान गरिनुपर्छ, यी राष्ट्रघाती अपराधीहरू हुन्’ भन्दै पोस्ट गरेका थिए भने ‘केपी ओली हेलिकप्टरबाट भागे भने हल्ला चलेको छ’ भन्दै अन्य पूर्वप्रधानमन्त्री तथा मन्त्रीहरूको नाम समेत उल्लेख गर्दै विदेश जान नदिन आह्वान गरेका थिए।

यी सार्वजनिक अभिव्यक्तिले आयोगको तटस्थतामाथि गम्भीर प्रश्न उठाइसकेको थियो। आफूले आयोग गठन हुनुभन्दा अघि नै आरोपितहरूप्रति पूर्वाग्रही धारणा राखेको व्यक्तिले नेतृत्व गरेको आयोगको प्रतिवेदन पनि विवादित बनिसकेको थियो। अहिले सोही व्यक्तिलाई ‘असुरक्षा बढेको’ भन्दै सेनाको ब्यारेकमा राख्न लागिएको सन्दर्भले नेपाली राजनीतिको विरोधाभासपूर्ण मोडलाई उजागर गरेको छ।
‘राष्ट्रघाती’ भनेर आरोप लगाउने व्यक्ति आज आफैं सुरक्षाका लागि ब्यारेकको शरणमा जानुपर्ने अवस्थाले पछिल्लो राजनीतिक उतारचढावको गहिराइलाई इंगित गर्दछ। यद्यपि, कार्कीलाई सेनाको ब्यारेकमा राख्ने विषयमा प्रशासनिक वा सुरक्षा निकायको आधिकारिक पुष्टि भने हुन सकेको छैन।
यो घटनाले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनको क्रममा आयोग प्रमुख नै सुरक्षाको दायरामा आउनुपर्ने अवस्थाको सिर्जना भएको देखाउँदै थप राजनीतिक बहसको विषय बनेको छ।





