‘ब्यारेक नजाने, घरमै बस्ने’ : कार्कीलाई दुई सुरक्षा निकायको चौबीसै घण्टे सुरक्षा

काठमाडौँ — भदौ २३ र २४ का घटनासम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको सुरक्षा व्यवस्थापनले नयाँ मोड लिएको छ। सरकारले उनलाई खरिपाटीस्थित सैनिक ब्यारेक र दुवाकोटस्थित सशस्त्र प्रहरीको गुह्येश्वरी गणमध्ये एउटा रोज्न भने पनि कार्कीले जान मानेनन्। अहिले उनी गुण्डुस्थित निवासमै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको व्यापक सुरक्षा घेरामा रहेका छन्।
स्रोतका अनुसार कार्कीलाई सुरक्षाका लागि दुईवटा विकल्प प्रस्ताव गरिएको थियो। पहिलो, खरिपाटीस्थित नेपाली सेनाको ब्यारेक र दोस्रो, दुवाकोटस्थित सशस्त्र प्रहरी बलको गुह्येश्वरी गण। तर, आयोग अध्यक्ष कार्कीले भने यी दुवै विकल्प अस्वीकार गर्दै आफू आफ्नै निवासमा बस्न चाहेको बताए। उनले आफू निवासमै बस्ने र यहीँ सुरक्षा ब्यवस्था गरिदिंदा राम्रो हुने धारणा राखेपछि सरकारले वैकल्पिक व्यवस्था गरेको हो।
हाल गुण्डुस्थित कार्की निवास वरपर प्रहरी र सशस्त्र प्रहरीको टोलीले चौबीसै घण्टे सुरक्षा प्रदान गरिरहेको छ। निवासको परिधिमा सुरक्षाकर्मीहरू परिचालन गरिएको छ भने आवश्यकता अनुसार थप सुरक्षा व्यवस्था मिलाइने स्रोतले जनाएको छ।
यो घटनाक्रमले कार्की आयोगको प्रतिवेदनपछि सिर्जित राजनीतिक परिस्थितिमा सुरक्षाको प्रश्नले थप नयाँ बहसको जन्म दिएको छ। केही दिनअघि मात्रै सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो भने प्रतिवेदनकै आधारमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परिसकेका छन्। यस्तो अवस्थामा प्रतिवेदन निर्माता नै सुरक्षाको प्रश्नमा आफ्नो निवास छाड्न नमान्नुले थप राजनीतिक विश्लेषणको विषय बनेको छ। यो व्यवस्था कति समयका लागि रहने भन्ने विषयमा भने कुनै औपचारिक जानकारी सार्वजनिक भएको छैन।





