‘न्याय हुनुपर्छ तर हतारो होइन, स्थापित प्रक्रियाबाट मात्र’ – पाण्डे

काठमाडौं — पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका पूर्वउपाध्यक्ष सुरेन्द्रप्रसाद पाण्डेले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भएको कारबाहीप्रति आफ्नो धारणा सार्वजनिक गर्दै न्याय स्थापित प्रक्रियाबाट मात्र हुनुपर्नेमा जोड दिएका छन्। उनले पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर आफ्नो अडान स्पष्ट पार्दै पीडित परिवारको न्यायको माग जायज भए पनि त्यो हतारो र एकपक्षीय ढंगले अगाडि नबढाइनुपर्ने बताएका हुन्।
पाण्डेले सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा सार्वजनिक गरेको अभिव्यक्तिमा भनेका छन्, “केपी जी र मेरो राजनीतिक यात्रा उतारचढावले भरिएको छ। हामी एउटै पार्टीमा रह्यौँ, अलग भयौँ र कयौँ पटक हाम्राबीच गम्भीर मतभेद भए – यो लुकाउनुपर्ने कुरा होइन। तर आज म जे भन्दैछु, त्यो राजनीतिक पक्षधरताले होइन – एउटा जिम्मेवार नागरिकको रूपमा भन्दैछु।”
उनले ७७ जना नेपालीको ज्यान जानुलाई सामान्य घटनाका रूपमा लिन नसकिने बताउँदै भने, “त्यो पीडा वास्तविक छ र पीडित परिवारको न्यायको माग जायज छ। तर न्याय स्थापित प्रक्रियाबाट हुनुपर्छ, जहाँ आरोप र प्रमाणको सही परीक्षण होस्।”
उनले प्रश्न गरेका छन् – “केही व्यक्तिमाथि मात्र सबै सजाय थुपार्ने यो हतारो न्यायका लागि हो कि राजनीतिक सन्देशका लागि?”
पूर्वअर्थमन्त्री पाण्डेले नेकपा (एमाले) का कार्यकर्ताप्रतिको चिन्ता पनि व्यक्त गरे। उनले भने, “मलाई नेकपा (एमाले) का कार्यकर्ताको चिन्ता छ। पार्टीलाई जीवन सुम्पेका ती हजारौँ कार्यकर्तालाई सडकमा ओराल्नु र मुलुकलाई मुठभेडतर्फ धकेल्नु कसैको हितमा छैन।”
अन्त्यमा उनले आफ्नो धारणालाई संक्षिप्त र स्पष्ट पार्दै भने, “त्यसैले न्याय होस् – तर निष्पक्ष र प्रक्रियागत।”
पाण्डेको यो अभिव्यक्तिले हालको राजनीतिक तरंगमा थप कोण थपेको छ। उनी स्वयं पनि नेकपा एमालेभित्र ओली निकट मानिँदैनन् भने हाल राजनीतिक मोर्चामा सक्रिय छन्। उनको यो धारणालाई एमालेभित्रकै संयमित आवाजका रूपमा हेर्न थालिएको छ।





