‘प्रधानमन्त्रीदेखि सांसदसम्मको दैनिक मापसे–लापसे जाँच अनिवार्य गरौं’ : हर्क साम्पाङ

काठमाडौं — श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले प्रधानमन्त्री, मन्त्री र सांसदहरूको दैनिक मापसे (मादक पदार्थ सेवन) र लापसे (लागु पदार्थ सेवन) जाँच गर्नुपर्ने बताएका छन्। उनले यो देशको स्वास्थ्यका लागि अनिवार्य रहेको स्पष्ट पारेका छन्।
सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै उनले भनेका छन्, ‘प्रधानमन्त्री लगायत सरकारमा बसेका सबै मन्त्रीहरूको मापसे (मादक पदार्थ सेवन) र लापसे (लागु पदार्थ सेवन) चेक जाँच दैनिक गरिनु पर्दछ। सांसदहरूको पनि गर्नु पर्छ। देशको स्वास्थ्यको लागि यो अनिवार्य छ।’

सांसद साम्पाङको यो अभिव्यक्तिले राजनीतिक वृत्तमा तरंग ल्याएको छ। उनले दैनिक मापसे जाँचको माग गर्दै जनप्रतिनिधिहरूको स्वास्थ्य र कार्यक्षमतामाथि प्रश्न उठाएका छन्। जनप्रतिनिधिहरूमा व्याप्त कथित मापसे–लापसे संस्कृतिप्रति आक्रोश व्यक्त गर्दै उनले यसलाई अनिवार्य स्वास्थ्य जाँचको परिधिभित्र ल्याउनुपर्ने धारणा राखेका हुन्।
उनले सार्वजनिक पदमा रहेकाहरूको शारीरिक र मानसिक अवस्था पारदर्शी बनाउनुपर्ने आवश्यकताबारे पनि उल्लेख गरेका छन्। आफ्नो यो अभिव्यक्तिलाई उनले संस्थागत सुशासन र जनप्रतिनिधिको स्वास्थ्य सुरक्षासँग पनि जोडेका छन्।
साम्पाङको यो मागले मुलुकको कानूनी र प्रशासनिक व्यवस्थामा थप बहसको विषय बनेको छ। उनले सडक सवारी सञ्चालनमा मापसे जाँच अनिवार्य भए जसरी नै सार्वजनिक पद धारण गरेकाहरूको पनि स्वास्थ्य परीक्षण अनिवार्य हुनुपर्ने तर्क गरेका छन्।
हालै मात्र सरकार गठन भई मन्त्रिपरिषद गठन भएको र उनीहरूकाे बानी मापसे र लापसे गर्ने रहेको जनचर्चाको सन्दर्भमा साम्पाङको यो अभिव्यक्तिले थप चर्चा पाएको छ। उनले आफ्नो प्रस्तावलाई संसदमा पनि उठाउने संकेत गरेका छन्।





