२३ बैशाख २०८३, बुधबार

‘कार्यवाहक सभापति’ को विवाद : कांग्रेसमा दुई धार, कारबाहीको तयारी

काठमाडौं — पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेको विषयमा नेपाली कांग्रेसका दुई पक्षले बेग्लाबेग्लै विज्ञप्ति जारी गरेपछि पार्टीभित्र नयाँ विवाद सुरु भएको छ। संस्थापनइतर समूहका नेता पूर्णबहादुर खड्काले ‘कार्यवाहक सभापति’ को हैसियतमा विज्ञप्ति निकालेपछि पदाधिकारीहरूबीचको अनौपचारिक छलफलमा उनीमाथि कारबाही गर्नेबारे समेत कुरा उठेको हो।

शनिबार प्रवक्ता देवराज चालिसेले आधिकारिक विज्ञप्ति जारी गरेपछि संस्थापनइतर पक्षले समेत बेग्लै विज्ञप्ति निकालेको थियो। सोही दिन दिउँसो संस्थापनइतरका नेताहरूबीच छलफल गरी खड्काले ‘कार्यवाहक सभापति’ को हैसियतमा विज्ञप्ति सार्वजनिक गरेका हुन्।

यस विषयमा शनिबारै पार्टी पदाधिकारीहरूबीच अनौपचारिक छलफल भएको थियो। सो छलफलमा केही पदाधिकारीहरूले ‘हुँदै नभएको कार्यवाहकको हैसियत’ मा विज्ञप्ति निकालिएको भन्दै खड्कालाई कारबाही गर्नुपर्ने प्रस्ताव राखेका थिए। तर, सभापति गगन थापा र उपसभापतिद्वय विश्वप्रकाश शर्मा तथा पुष्पा भुसाल भने अहिले नै कारबाही गर्ने पक्षमा नदेखिएको एक पदाधिकारीले बताए।

पदाधिकारीहरूले २०७८ को १४औं महाधिवेशनपछिको सन्दर्भ समेत उठाएका छन्। तत्कालीन महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई खड्का कार्यवाहक हुँदा पार्टीबाट निकाल्ने निर्णय भएको इतिहास कोट्याउँदै ‘अहिले कार्यवाहक नै नदिएको अवस्थामा खड्काले कार्यवाहक सभापति भन्दै विज्ञप्ति निकाल्नुभएको छ, उहाँलाई कारबाही किन नगर्ने?’ भन्ने प्रश्न उठेको हो।

अब खड्काले पुनः ‘कार्यवाहक सभापति’ को हैसियतमा विज्ञप्ति वा कुनै गतिविधि जारी राखेमा उनीमाथि कारबाहीको बाटो अपनाइने तयारी समेत गरिएको छ। पार्टीले क्रियाशील सदस्यता वितरण र नवीकरण अभियान सञ्चालन गर्न लागेको सन्दर्भमा खड्काको सदस्यता नवीकरण नै रोक्नेसम्मको तयारी रहेको एक पदाधिकारीले बताए।

‘हुँदै नभएको कार्यवाहक लेख्ने नेतालाई कारबाही गर्नुपर्छ भन्ने केही पदाधिकारीको कुरा छ। तर सभापति थापा र उपसभापतिहरू अहिले नै कारबाही गर्ने पक्षमा देखिनुभएन, यो विषयलाई नोटिसमा लिइएको छ भन्ने कुरा चाहिँ भयो,’ ती पदाधिकारीले भने, ‘अब फेरि कार्यवाहक सभापति भन्दै विज्ञप्ति निकाल्दै गए सदस्यता नवीकरण नगर्नेसम्म पुग्ने तयारी छ।’

यदि खड्काले यसरी नै गतिविधि जारी राखेमा उनको सदस्यता रहेको सुर्खेतस्थित वडा कार्यसमितिलाई केन्द्रले सदस्यता नवीकरण नगर्न निर्देशन दिने र आवश्यक परे केन्द्रले नै हस्तक्षेप गरी नवीकरण होल्डमा राख्ने तयारी पनि गरिएको छ।

तर, खड्कानिकट संस्थापनइतर पक्षका नेताहरू भने यस विषयमा भिन्न धारणा राख्छन्। उनीहरूका अनुसार हाल कांग्रेसको आधिकारिकताको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेकाले को आधिकारिक कांग्रेस हो भन्ने अहिले यकिन भइसकेको छैन।

‘अदालतबाट यो विषय नटुंगिँदासम्म त पूर्णबहादुर खड्का नै कार्यवाहक सभापति हो, केन्द्रीय समितिले थपेको १४औं महाधिवेशनको कार्यसमितिको कार्यकाल पनि सकिएको छैन नि!,’ एक संस्थापनइतर नेताले भने, ‘विशेष महाधिवेशन भन्दै एकलौटी भेलाबाट आएको भन्नेहरूले अदालतको निर्णय कुर्न सक्नुपर्यो।’

उल्लेखनीय छ, विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वको नयाँ कार्यसमिति आएको थियो। उक्त कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिएको विरोधमा शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत पुगेको छ र मुद्दा विचाराधीन छ। फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा भने समानुपातिकतर्फ तत्कालीन सभापति शेरबहादुर देउवा र प्रत्यक्षतर्फ सभापति गगन थापाको हस्ताक्षरमा सूची तयार गरी उम्मेदवारलाई टिकट दिइएको थियो।

हाल कांग्रेसले १५औं महाधिवेशनको कार्यतालिका समेत सार्वजनिक गरिसकेको छ। तर, संस्थापन र संस्थापनइतर समूहबीचको यो विवादले पार्टीभित्र समानान्तर गतिविधि बढ्ने संकेत देखाएको छ। संस्थापन पक्षले यी विषयलाई ‘नोटिस’ मा राखेको र आवश्यक परे कारबाहीको बाटो अपनाउने तयारी गरेको छ भने संस्थापनइतर पक्ष अदालतको निर्णय नआउञ्जेल आफ्नो धारणामा अडिग रहने देखिन्छ।

कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरेले भने खड्काले विज्ञप्ति निकालेकोबारे शनिबार बेलुकी मात्रै थाहा पाएको र आफू सो छलफलमा सहभागी नभएको बताए।

अहिले कांग्रेसको यो आन्तरिक विवादले पार्टी एकतामा चर्को चुनौती थपिएको छ। पूर्वप्रधानमन्त्री ओली पक्राउ परेपछि सत्तारुढ गठबन्धन र प्रतिपक्षी दलहरूबीच चलिरहेको राजनीतिक घमासानमा कांग्रेस आफैं दुई धारमा विभाजित देखिनुले पार्टीको भूमिकामा समेत प्रश्न उठ्न थालेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button