२३ बैशाख २०८३, बुधबार

‘राजनीतिमा होइन, कानुनमा मात्र’ : प्रजिअ पौडेलले एमालेलाई भने– प्रशासन तटस्थ, आगजनीमा कारबाही हुन्छ

काठमाडौँ — प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध विरोध पत्र बुझाउन जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका एमाले नेता–कार्यकर्ताहरुलाई प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले ‘राजनीतिक विषयमा प्रशासन प्रवेश नगर्ने’ स्पष्ट पारेका छन्। उनले प्रदर्शनको क्रममा भएका हिंसात्मक घटनामा संलग्नहरुलाई कानुनअनुसार कारबाही गरिने पनि बताए।

ओलीलाई शनिबार गैरकानुनी रूपमा पक्राउ गरिएको भन्दै एमालेले आइतबार देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत् सरकारलाई विरोध पत्र बुझाउने कार्यक्रम तय गरेको थियो। सोही कार्यक्रमअनुसार एमालेका नेता रामेश्वर फुयालसहितका नेताहरु प्रशासन कार्यालय पुगेका थिए। उनीहरुसँग प्रजिअ पौडेलले भने, ‘राजनीतिक विषयमा हामी बिल्कुलै प्रवेश गर्दैनौं। हाम्रो न्युट्रालिटीले गर्दा, हाम्रो प्रोफेस्नालिज्म अनुसार हामी अगाडि बढ्छौं।’

प्रजिअ पौडेलको यो भनाइलगत्तै एमालेका एक नेताले ‘राजनीतिक मात्र नभई कानुनी विषय’ पनि भएको बताए। तर प्रजिअ पौडेलले यसमा धेरै बहस नगर्ने जवाफ दिए। शनिबार अध्यक्ष ओली पक्राउ परेलगत्तै एमाले कार्यकर्ताहरुले विरोध प्रदर्शन गर्दै आएका छन्। शनिबारको प्रदर्शनको क्रममा माइतीघर–बिजुलीबजार खण्डमा तोडफोड र आगजनीका घटना भएका थिए।

प्रमुख जिल्ला अधिकारी पौडेलले प्रदर्शनको क्रममा ‘केही हर्कत’ भएको भन्दै त्यसमा संलग्नहरुको हकमा कानुनी कारबाही अघि बढ्ने बताए। ‘तिनीहरुको हकमा कानुनी कारबाही अघि बढ्छ। कानुनको सीमाबाट हामी सबै बाँधिएका छौं,’ उनले स्पष्ट पारे। साथै, उनले सुरक्षाकर्मीलाई संयमित हुन निर्देशन दिइएको भन्दै एमाले नेता–कार्यकर्ताहरुलाई पनि संयमित हुन आग्रह गरे।

यो घटनाले एमालेको विरोध प्रदर्शनलाई प्रशासनले ‘राजनीतिक माग’ र ‘कानुनी कारबाही’ बीचको सीमांकन गर्न खोजेको संकेत गरेको छ। प्रजिअ पौडेलको तटस्थताको अडानले आगामी दिनमा प्रशासन र प्रदर्शनकारीबीच तनाव उत्पन्न हुने सम्भावना भनेलाई पनि इंगित गरेको छ। एमालेले भने यो विरोधलाई कानुनी र राजनीतिक दुवै रूपमा अघि बढाउने बताइरहेको छ। अब आगामी दिनमा प्रशासनको यो अडान र एमालेको आन्दोलनबीच कस्तो सम्बन्ध विकास हुन्छ भन्ने चासोको विषय बनेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button