‘चीनले अघोषित नाकाबन्दी लगाएछ, गृहमन्त्री पुग्नुस् लिपुलेक’ : हर्क साम्पाङको अर्को चर्को टिप्पणी

काठमाडौं — श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले गृहमन्त्री सुधन गुरुङले चीनको नाकामा पुगेको भन्दै तीव्र आलोचना गरेका छन्। उनले चीनले अघोषित नाकाबन्दी लगाएको आरोप समेत लगाएका छन्।
सामाजिक सञ्जालमा साम्पाङले लेखेका छन्, ‘२४ घण्टा नपुग्दै चीनको नाकामा पुग्न थ्याएछ गृह मन्त्री ! चीनले अघोषित नाकाबन्दी नि लाएछ ! यो सरकार कस्को इशारामा चल्दैछ ? लिपुलेक तिर नि पुग्नुस् हे हेर्न !’
यसअघि नै उनले प्रधानमन्त्री, मन्त्री र सांसदहरूको दैनिक मापसे–लापसे जाँच गर्नुपर्ने बताएका थिए। उनको यो नयाँ अभिव्यक्तिले राजनीतिक वृत्तमा थप तरंग ल्याएको छ। उनले गृहमन्त्री गुरुङको चीनकाे सीमा नाका भ्रमणलाई लिएर प्रश्न उठाउँदै सरकारको परराष्ट्र नीति र संलग्नताबारे गम्भीर प्रश्न गरेका छन्।
साम्पाङले लिपुलेक क्षेत्रमा समेत गृहमन्त्री पुग्नुपर्ने माग गर्दै सरकारको कार्यशैलीमा असन्तुष्टि व्यक्त गरेका छन्। ‘यो सरकार कस्को इशारामा चल्दैछ ?’ भन्ने प्रश्न उठाउँदै उनले सरकारको निर्णय प्रक्रियामा बाह्य प्रभाव रहेको आरोप समेत लगाएका छन्।
हालै मात्र गृहमन्त्री सुधन गुरुङले चीनको तिब्बत स्वायत्त क्षेत्रको नाकाको अवलोकन तथा सीमा सुरक्षा सम्बन्धी अन्तरक्रियाका क्रममा उक्त क्षेत्रको भ्रमण गरेका थिए। सोही भ्रमणलाई लक्षित गर्दै साम्पाङले यस्तो टिप्पणी गरेका हुन्।
उनले चीनले अघोषित नाकाबन्दी लगाएको भन्दै गरेको आरोपले भने कूटनीतिक सन्दर्भमा प्रश्न उठ्न थालेको छ। सरकारी निकाय र विज्ञहरूले भने नेपाल–चीन सीमा नाका नियमित रूपमा सञ्चालनमा रहेको र कुनै पनि प्रकारको अघोषित नाकाबन्दी नरहेको स्पष्ट पारिसकेका छन्।
सांसद साम्पाङको यो अभिव्यक्तिले उनी स्वयं रहेको संसदीय मर्यादाबारे पनि प्रश्न उठेको छ। उनले विगतमा पनि विवादास्पद अभिव्यक्तिहरू दिँदै आएका छन्। यसपटकको टिप्पणीले भने सरकार र छिमेकी मुलुक चीनसँगको सम्बन्धलाई लिएर उनको धारणा स्पष्ट पारेको छ।





