‘परिवर्तित राजनीतिक परिस्थिति’ देखाउँदै हेटौंडा सिमेन्ट अध्यक्ष भण्डारीको राजीनामा, मन्त्रालयको कार्यशैलीप्रति असन्तुष्टि

काठमाडौँ — सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योग सञ्चालक समितिका अध्यक्ष नरेन्द्र भण्डारीले पदबाट राजीनामा दिएका छन्। उनले आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आफ्नो राजीनामा पत्र बुझाएका हुन्। २४ जेठ २०८१ को मन्त्रिपरिषद बैठकको निर्णयअनुसार तीन वर्षका लागि नियुक्त भएका भण्डारीले कार्यकाल बाँकी छँदै ‘परिवर्तित राजनीतिक परिस्थिति’ लाई मुख्य कारण देखाउँदै राजीनामा दिएका छन्।
राजीनामा पत्रमा भण्डारीले आफ्नो कार्यकालमा उद्योगलाई सुदृढ बनाउन निरन्तर प्रयास गरेको उल्लेख गरेका छन्। पुरानो मेसिनरी संयन्त्र, प्रविधिगत सीमितता र चरम आर्थिक अभावका बाबजुद उद्योगलाई सञ्चालनमा राख्न सफल भएको र हाल उद्योगमा क्लिङ्कर उत्पादन तथा बिक्री प्रक्रिया नियमित भइरहेको उनले दाबी गरेका छन्।
तर, उनले राजीनामापत्र मार्फत मन्त्रालयको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि समेत व्यक्त गरेका छन्। उद्योगलाई प्रतिस्पर्धी बनाउन आवश्यक पर्ने पुँजीगत तथा चालू खर्च व्यवस्थापनका लागि पटकपटक ऋण तथा अनुदानको अनुरोध गरे पनि मन्त्रालयबाट ठोस नीतिगत निर्देशन र आर्थिक व्यवस्थापन नभएको उनले गुनासो गरेका छन्। भण्डारीको राजीनामाले नेपालको सरकारी स्वामित्वको उद्योगको व्यवस्थापन र सरकारी नीतिगत सहजीकरणमा रहेको कमजोरीलाई फेरि एकपटक उजागर गरेको छ। राजीनामा स्वीकृत भएपछि नयाँ अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढ्नेछ। यो घटनाले सरकारी उद्योगहरूको दिगोपन र सञ्चालनमा देखिएको समस्याप्रति गम्भीर ध्यानाकर्षण गराएको छ।





