२२ बैशाख २०८३, मंगलवार

पत्रकारिताको मर्यादा र प्रेस स्वतन्त्रताको सन्तुलनमा प्रेस काउन्सिल नेपालको जोड

काठमाडौं — समसामयिक परिस्थितिमा पत्रकार तथा सञ्चारकर्मीमाथि भइरहेका दुर्व्यवहार, कुटपिट र अमर्यादित गतिविधिप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै प्रेस काउन्सिल नेपालले प्रेस विज्ञप्ति जारी गरेको छ। काउन्सिलले नागरिकको सूचना पाउने अधिकारको सुनिश्चिततासँगै प्रेस स्वतन्त्रताको मर्यादित प्रयोग अपरिहार्य रहेको स्पष्ट पारेको छ।

विज्ञप्तिमा समाचार संकलनका क्रममा पत्रकारहरूमाथि हुने आक्रमण र अवरोध लोकतान्त्रिक मूल्य–मान्यता विपरीत रहेको उल्लेख गर्दै यस्ता घटनाले प्रेस स्वतन्त्रतामाथि प्रत्यक्ष असर पार्ने जनाएको छ। काउन्सिलले पत्रकार तथा सञ्चारकर्मीलाई आफ्नो पेशागत आचरण, व्यवहार र प्रस्तुतीमा मर्यादा कायम राख्न आग्रह गरेको छ।

त्यसैगरी, प्रेस स्वतन्त्रताको नाममा कसैप्रति अमर्यादित व्यवहार गर्न नहुने र सत्य, तथ्य तथा सन्तुलित पत्रकारिता मार्फत विश्वसनीयता कायम गर्नुपर्नेमा जोड दिइएको छ। पछिल्लो समय केही सञ्चारकर्मीबाट पेशागत आचारसंहिता विपरीत प्रस्तुती भएको गुनासो आएकोप्रति पनि काउन्सिलले ध्यानाकर्षण भएको जनाएको छ।

काउन्सिलले प्रेस स्वतन्त्रताको संरक्षण र संवर्द्धनमा सधैं प्रतिबद्ध रहेको उल्लेख गर्दै यसको दुरुपयोग हुन नदिन सबै पक्षलाई सचेत रहन आह्वान गरेको छ। साथै, पत्रकार तथा सञ्चारमाध्यममाथि कुनै प्रकारको बाधा–अवरोध सिर्जना नगर्न र स्वतन्त्र वातावरणमा काम गर्ने सुनिश्चितता गर्न सम्बन्धित निकायसँग आग्रह गरिएको छ।

विज्ञप्तिको अन्त्यमा काउन्सिलले जिम्मेवार, मर्यादित र उत्तरदायी पत्रकारितामार्फत लोकतान्त्रिक मूल्यहरूलाई बलियो बनाउने दिशामा सबै सञ्चारकर्मी एकताबद्ध हुनुपर्ने सन्देश दिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button