२२ बैशाख २०८३, मंगलवार

गौर हत्याकाण्डको फाइल खोल्न गृहमन्त्रीको निर्देशनपछि हतारमा काठमाडौं फर्किए उपेन्द्र यादव

काठमाडौँ — जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादव सप्तरीको राजगढ गाउँपालिकाबाट हतारमा काठमाडौं फर्किएका छन्। गृहमन्त्री सुदन गुरुङले प्रहरीलाई गौर हत्याकाण्डको फाइल खोल्न निर्देशन दिएको सूचना पाएलगत्तै उनी सबै कार्यक्रम थाती राखेर राजधानी आएको बुइएको छ। उनी बुद्ध एअरको उडान नम्बर बिएचए १५०२ मार्फत आइतबार बिहान फर्किएका थिए।

२०६३ चैत ७ गते रौतहटको गौरमा भएको हत्याकाण्डमा जाहेरी दर्ता गरी अनुसन्धान अघि बढाउन सर्वोच्च अदालतले गत भदौ ३ गते गृह मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालय, नेपाल प्रहरी र जिल्ला सरकारी वकिल कार्यालयको नाममा परमादेश जारी गरेको थियो। यस सन्दर्भमा नयाँ सरकार सक्रिय बनेको देखिन्छ।

यता, बालेन्द्र शाह नेतृत्वको सरकारले पुराना राजनीतिक दलका नेताहरूलाई धमाधम कानुनी दायरामा ल्याइरहेको छ। शनिबार पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परिसकेका छन् भने आइतबार पूर्वऊर्जामन्त्री दीपक खड्कालाई नियन्त्रणमा लिइएको छ। स्रोतका अनुसार वर्तमान सरकारको अर्को निशाना नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा (बादल) र सचिव महेश बस्नेत रहेको बुइएको छ। बस्नेतसँग लिभिङ टुगेदरमा रहेकी भनिएकी शोभा पाठकको जाहेरी दर्ता गरेर उनलाई समात्ने तयारी गरिएको छ।

अर्कोतर्फ, थापाको माध्यमबाट नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा, उनकी पत्नी डा. आरजु राणा र बालकृष्ण खाँणसम्म पुग्ने गृहमन्त्री गुरुङको योजना रहेको स्रोतले दाबी गरेको छ। गत निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ३ बाट पराजित उपेन्द्र यादव पहिले नै तनावमा छन्। गौर हत्याकाण्डका मुख्य पात्र भनिएका आम जनता पार्टीका अध्यक्ष प्रभु साह पनि निर्वाचनमा पराजित भइसकेका छन्। गृहमन्त्री गुरुङले दिएको निर्देशनपछि गौर हत्याकाण्डको अनुसन्धानले नयाँ मोड लिने र यसले धेरै पुराना नेताहरूलाई तान्ने संकेत भएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button