वैशाख १ गतेदेखि बन्द हुने भए प्रवेश परीक्षाको तयारी कक्षा र ब्रिज कोर्स

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न संस्थाहरूले सञ्चालन गर्दै आएका प्रवेश परीक्षा तयारी कक्षा तथा ब्रिज कोर्सलाई आगामी वैशाख १ गतेदेखि पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ। यस्ता कार्यक्रमले विद्यार्थीको मनोविज्ञान र शिक्षामा नकारात्मक प्रभाव पार्नुका साथै अनावश्यक आर्थिक बोझ सिर्जना गरेको मन्त्रालयको ठहर छ।
मन्त्रालयले आज जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, विद्यालय तथा उच्च शिक्षाको भर्ना प्रक्रिया सुरु हुनुभन्दा अगावै भर्नालाई लक्षित गरी सञ्चालित यी कक्षाहरूले शिक्षामा समतामूलक पहुँचमा बाधा पुर्याएको छ। मन्त्रालयका सहसचिव एवं प्रवक्ता शिवकुमार सापकोटाका अनुसार चैत १३ गते मन्त्रीस्तरबाट नै यो निर्णय भएको हो र यसको कार्यान्वयनका लागि सबै सम्बन्धित निकायमा निर्देशन भइसकेको छ।
मन्त्रालयले वैशाख १ गतेदेखि यी कार्यक्रम पूर्ण बन्द गर्न र अनुगमन गर्न निर्देशन दिएको छ। निर्णयविपरीत कार्यक्रम सञ्चालन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाहीका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निर्देशन गरिएको प्रवक्ता सापकोटाले जानकारी दिए।





