‘कुनै राजा मान्दैनौँ’ : अमेरिकी प्रशासनको इरान युद्ध र अध्यागमन नीतिविरुद्ध लाखौँ नागरिक सडकमा

वासिङ्टन डी.सी. — अमेरिकी प्रशासनको इरानमा सैन्य कारबाही र विवादास्पद अध्यागमन प्रवर्तनविरुद्ध लाखौँ अमेरिकी नागरिक शनिबार देशभर ‘नो किङ्स’ (कुनै राजा मान्दैनौँ) र्यालीको तेस्रो लहरमा सडकमा उत्रिएका छन्।
देशभर ३,१०० भन्दा बढी प्रदर्शनको योजना गरिएको थियो भने वासिङ्टन डी.सी., न्युयोर्क, बोस्टन, लस एन्जलस र सान फ्रान्सिस्को जस्ता प्रमुख सहरहरूमा प्रदर्शन भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। करिब ९००,००० मानिस सहभागी भएको अनुमान गरिएको यो एकैदिनको सबैभन्दा ठूलो विरोध प्रदर्शन हो।
‘नो किङ्स’ आयोजकहरूका अनुसार यसअघिका दुई चरणका शान्तिपूर्ण र्यालीमा जुन २०२५ मा ५० लाखभन्दा बढी र अक्टोबर २०२५ मा ७० लाख मानिस सहभागी भएका थिए। शनिबार सेन्ट पलको मिनेसोटा राज्य क्यापिटलमा भएको मुख्य र्यालीमा चिसो मौसमका बावजुद करिब एक लाख मानिस सहभागी भएको आयोजकले जनाएको छ।
प्रदर्शनको मुख्य कारण इरानमा अमेरिकी सैन्य कारबाही, मिनियापोलिसमा अध्यागमन तथा भन्सार प्रवर्तन (आईसीई) एजेन्टको गोलीबारीमा दुई अमेरिकी नागरिकको जनवरीमा भएको मृत्यु, र आयोजकहरूका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको अत्यधिक शक्ति रहेको बताइएको छ।
सेन्ट पलको मुख्य कार्यक्रममा भर्मन्ट राज्यका स्वतन्त्र सिनेटर बर्नी स्यान्डर्सले अमेरिकी नीतिको कडा आलोचना गर्दै भने, ‘भियतनाम र इराक युद्धमा हामीसँग झूट बोलिएको थियो। र, आज इरान युद्धको बारेमा पनि हामीसँग झूट बोलिँदैछ। यो युद्ध तत्काल अन्त्य हुनुपर्छ।’
न्युयोर्क सहरमा ब्रोङ्क्स, ब्रुकलिन, म्यानहटन, क्वीन्स र स्टेटेन आइल्यान्ड गरी सबै पाँच बरोमा प्रदर्शन भयो। म्यानहटनमा शनिबार अपराह्न सातौँ एभिन्यूमा दशौँ हजार प्रदर्शनकारी १० ब्लकभन्दा बढी लामो लाइन बनाउँदै ‘नो आईसीई’, ‘नो किङ्स’ र ‘नो वार्स’ लेखिएका प्लेकार्ड बोकेर मार्च गरे।
अभिनेता रोबर्ट डी निरो, जो आयोजकमध्ये एक हुनले भने, ‘ट्रम्पभन्दा पहिले कुनै पनि अमेरिकी राष्ट्रपतिले हाम्रो स्वतन्त्रता र सुरक्षामा यस्तो अस्तित्वगत खतरा उत्पन्न गरेको थिएन।’
वासिङ्टन डी.सी.मा लिंकन मेमोरियल बाहिर भीड जम्मा भई राष्ट्रिय मलतर्फ मार्च गर्दै ‘रेजिम परिवर्तन घरबाट सुरु हुन्छ’ र ‘हाम्रो संविधानको रक्षा गर’ लेखिएका प्लेकार्ड बोकेका थिए। प्रदर्शनकारीले घण्टी बजाए, ड्रम बजाए र ‘नो किङ्स’ नारा लगाए।
क्यालिफोर्नियाको साक्रामेन्टोमा पनि प्रदर्शनकारी राज्य क्यापिटलमा जम्मा भए। अमेरिकाले फेब्रुअरी २८ मा इरानविरुद्ध सैन्य कारबाही सुरु गरेयता राज्यभर इन्धन मूल्य आकाशिएको पृष्ठभूमिमा यो प्रदर्शन भएको हो। अमेरिकन अटोमोबाइल एसोसिएसनका अनुसार लस एन्जलस काउन्टीमा पेट्रोलको मूल्य प्रति ग्यालन ६ डलर नजिक पुगेको छ, एकै महिनामा १.२६ डलरले बढेको।
प्रदर्शन आयोजक समूहहरूमा इन्डिभिजिबल, मुभअन, अमेरिकन सिभिल लिबर्टिज युनियन, र अमेरिकन फेडेरेसन अफ लेबर एन्ड कांग्रेस अफ इन्डस्ट्रियल अर्गनाइजेसन समावेश छन्। प्रदर्शनकारीले क्यापिटलको पर्खालमा ठूलो प्लेकार्ड राखेका थिए जसमा लेखिएको थियो, ‘हामीसँग सीटी थियो, उनीहरूसँग बन्दुक थियो। क्रान्ति मिनियापोलिसबाट सुरु हुन्छ।’






