प्रतिशोधको राजनीति कि कानुनी प्रक्रिया ? गिरफ्तारी प्रकरणले फेरि तातेको राजनीतिक माहोल

काठमाडौं — नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई लक्षित गरी गिरफ्तारीको तयारी भइरहेको दाबी गर्दै त्यसलाई पार्टी अध्यक्ष केपी शर्मा ओली विरुद्ध चलिरहेको प्रतिशोधात्मक कदमको निरन्तरता भएको आरोप लगाएका छन्। उनले यस्तो गतिविधिले आन्दोलनलाई कमजोर पार्ने सुनियोजित प्रयास भइरहेको बताएका छन्।
बस्नेतका अनुसार, तीन वर्षअघि नै एक ‘फेक’ व्यक्तिलाई अघि सारेर आफ्नो विरुद्ध झुट्टा जाहेरी दर्ता गरिएको थियो, जुन प्रहरी अनुसन्धानबाट नै फर्जी प्रमाणित भइसकेको दाबी गरिएको छ। साथै, सोही विषयमा उच्च अदालत पाटनमा दायर गरिएको रिट पनि अदालतले खारेज गरिसकेको उनको भनाइ छ।
उनले पुनः सोही प्रकरणमा पूरक जाहेरी दर्ता गरी मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा फेरि उही व्यक्तिलाई प्रयोग गरेर तेस्रो पटक नक्कली जाहेरी दर्ता गराउने तयारी भइरहेको आरोप लगाएका छन्। यस्तो प्रक्रियालाई ‘मिडिया ट्रायल’ मार्फत जनमत प्रभावित गर्ने प्रयासको रूपमा उनले व्याख्या गरेका छन्।
बस्नेतले बालेन्द्र शाह नेतृत्वको सरकार तथा गृहमन्त्री सुधन गुरुङ माथि अधिनायकवादी शैली अपनाउँदै राजनीतिक प्रतिशोधमा उत्रिएको आरोप समेत लगाएका छन्। यस्ता कार्यहरूको प्रतिफल सम्बन्धित पक्षले भोग्नुपर्ने चेतावनी उनले दिएका छन्।
यसैबीच, आफ्नो मोबाइल बन्द रहेको र आफू फरार भएको भन्ने प्रचार पूर्णतः भ्रामक र गलत रहेको स्पष्ट पार्दै बस्नेतले यस्ता हल्ला फैलाएर जनतालाई भ्रमित पार्ने प्रयास भइरहेको बताएका छन्। उनले अन्ततः यस्ता गतिविधिहरू सम्बन्धित पक्षकै लागि कठिन बन्ने दाबी गरेका छन्।





