२२ बैशाख २०८३, मंगलवार

गृहमन्त्री गुरूङद्वारा प्रहरी प्रधान कार्यालय निरीक्षण : ‘प्रहरीको भूमिकामा हस्तक्षेप हुँदैन, शिष्ट व्यवहारबाट जनसम्बन्ध सुमधुर बनाऔँ’

काठमाडौँ — गृहमन्त्री सुधन गुरूङले सोमबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्दै प्रहरी कर्मचारीहरूलाई निर्धक्क भएर आफ्नो जिम्मेवारी बहन गर्न निर्देशन दिएका छन्। उनले प्रहरीको भूमिकामा कुनै पनि तहबाट हस्तक्षेप नहुने स्पष्ट पारे।

प्रहरी महानिरीक्षक दान बहादुर कार्की, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले गृहमन्त्री गुरूङलाई हार्दिक स्वागत गरेका थिए। भ्रमणको सुरुवातमा उनले अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गर्दै शहीद प्रहरीहरूप्रति श्रद्धाञ्जली अर्पण गरे।

गृहमन्त्री गुरूङले प्रधान कार्यालयस्थित सङ्ग्रहालय, डिजिटल फरेन्सिक ल्याब, आर्टिफिसियल इन्टेलिजेन्स एन्ड एड्भान्स्ड एनालिटिक्स सेल, डाटा सेन्टर र पोलीग्राफ सेक्सनको निरीक्षण गरी ती विधाका गतिविधिबारे जानकारी लिए।

निरीक्षणपश्चात् आयोजित कार्यक्रममा उपस्थित तथा भर्चुअल रूपमा जोडिएका प्रहरी अधिकृत र जवानहरूलाई सम्बोधन गर्दै गृहमन्त्री गुरूङले सीमित स्रोतसाधनका बाबजुद पनि नेपाल प्रहरीले आफ्नो जिम्मेवारी उत्कृष्ट रूपमा निर्वाह गरिरहेको बताए। उनले भने, ‘प्रहरीले आफ्नो भूमिका निर्वाह गर्ने क्रममा कुनै पनि तहबाट हस्तक्षेप हुने छैन।’

समाजले प्रहरीलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै उनले नागरिक र प्रहरीबीचको दूरी घटाउँदै शिष्ट बोली, बचन र व्यवहारका साथ नागरिकको समस्या सम्बोधन गर्न निर्देशन दिए। विपद् व्यवस्थापनमा प्रहरी अग्रपंक्तिमा रहेर खटिनुपर्ने भन्दै उनले प्रहरीलाई थप साधनस्रोतयुक्त बनाउने र समयानुकूल तालिमको व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गरे।

प्रहरी कर्मचारीको वृत्ति विकास कार्यसम्पादन र वैज्ञानिक प्रणालीको आधारमा हुने बताउँदै गृहमन्त्री गुरूङले सांगठनिक सुदृढीकरणलाई विशेष प्राथमिकतामा राख्दै समयानुकूल प्रविधिमैत्री र साधनस्रोत सम्पन्न बनाउन प्रतिबद्ध रहेको स्पष्ट पारे।

गृहसचिव राजकुमार श्रेष्ठले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐतिहासिक रूपमा शान्तिपूर्ण तवरले सम्पन्न गराउन प्रत्येक प्रहरी कर्मचारीले निर्वाह गरेको व्यावसायिक भूमिकाको उच्च सम्मान गर्दै भने, ‘निर्वाचनको समयमा नेपाल प्रहरीले प्रदर्शन गरेको सक्षमताले जस्तोसुकै परिवेशमा पनि कार्यसम्पादन गर्न सक्षम रहेको पुष्टि गरेको छ।’

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले धन्यवाद ज्ञापन गर्दै नेपाल प्रहरीले संविधान र ऐनकानुनले निर्दिष्ट गरेको अधिकार र मानव अधिकारका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डभित्र रही ‘सत्य, सेवा, सुरक्षण’को मर्मलाई निष्ठापूर्वक पालना गर्दै आइरहेको बताए। गृहमन्त्रीबाट प्राप्त समयसापेक्ष र व्यावसायिक निर्देशनले प्रहरी कर्मचारीको मनोबल र उत्साह वृद्धि हुनुका साथै आगामी कार्यदिशा थप प्रभावकारी र परिणाममुखी हुने विश्वास उनले व्यक्त गरे।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक राजेन्द्र प्रसाद भट्टले नेपाल प्रहरीको संगठनात्मक संरचना, हालको अवस्था, अपराध अनुसन्धान तथ्याङ्क, विपद् व्यवस्थापन, ट्राफिक व्यवस्थापन, अन्तर्राष्ट्रिय समन्वय, चुनौती र आगामी कार्यदिशालगायत विषयमा संस्थागत प्रस्तुतीकरण गरेका थिए।

कार्यक्रममा ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, विभिन्न प्रहरी गणहरू, तालिम केन्द्रहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, जिल्ला प्रहरी कार्यालयहरू तथा मातहत कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button