‘थाइवान हात पार्ने अमेरिकी चाल : चीनको चेतावनी– थाँती राख, सहन सकिंदैन’

बेइजिङ — अमेरिकी सेनेटरको थाइवान भ्रमणलाई लिएर चीनले कडा प्रतिक्रिया जनाएको छ। थाइवान र अमेरिकाबीचको कुनै पनि प्रकारको ‘आधिकारिक आदानप्रदान’ आफूले कहिल्यै सहन नसक्ने चीनले स्पष्ट पारेको छ। परराष्ट्र मन्त्रालयकी प्रवक्ता माओ निङले यस विषयमा अमेरिकालाई पाँच स्पष्ट धाराका साथ चेतावनी दिँदै भनिन् : ‘थाइवानको स्वतन्त्रता’ लाई कुनै पनि गलत सन्देश नदिनू, नत्र यसको परिणाम भोग्न तयार रहनू।
मार्च ३० को नियमित पत्रकार सम्मेलनमा प्रवक्ता माओले अमेरिकाले ‘एक चीन सिद्धान्त’ र दुवै देशबीच भएका तीन संयुक्त सम्झौताको गम्भीरतापूर्वक पालना गर्नुपर्नेमा जोड दिइन्। उनले भनिन्, ‘थाइवानसम्बन्धी मामिला चीनको अखण्डतासँग जोडिएको छ। हामी आफ्नो सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका लागि आवश्यक कदम चाल्न कुनै पनि हालतमा पछि हट्दैनौं।’
चीनले अमेरिकालाई थाइवानसँगको कुनै पनि आधिकारिक भेटघाट तत्काल रोक्न, ‘थाइवानको स्वतन्त्रता’को पक्षधर शक्तिहरूलाई प्रोत्साहन नदिन र व्यवहारिक गतिविधिहरूद्वारा थाइवान जलडमरूमा शान्ति भंग नगर्न निर्देशनात्मक भाषामा सचेत गराइएको छ।
प्रवक्ता माओले पटक–पटक दोहोर्याइन्– ‘थाइवान चीनको अभिन्न अंग हो। यो धारणामा कसैले पनि औँला ठड्याउन पाउँदैन। अमेरिकी पक्षले आफ्नो व्यवहार सच्याएन भने, चीन कूटनीतिकदेखि अन्य आवश्यक सबै तहमा ठोस जवाफ दिन बाध्य हुनेछ।’
यो चेतावनीलाई चीन–अमेरिका सम्बन्ध र क्षेत्रीय स्थायित्वका लागि एक ‘निर्णायक मोड’का रूपमा हेरिएको छ।





