२२ बैशाख २०८३, मंगलवार

‘नागढुंगाको मुटु चिनियाँ हातमा : वैशाखमै सुरुङ परिक्षण सञ्चालनकाे तयारी’

काठमाडौं – उपत्यकाको पश्चिम ढोका नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा अन्ततः चिनियाँ कम्पनीले पाएको छ। यद्यपि जापान सरकारले चिनियाँ कम्पनीलाई यो जिम्मा दिनुहुँदैन भन्दै अडान लिँदै आएको थियो, तर आर्थिक मूल्याङ्कनको प्रतिस्पर्धामा युसिन (चिनियाँ) र एआरटी (नेपाली) को संयुक्त लगानी कम्पनी ‘युसिन–एआरटी जेभी’ विजयी भयो।

खरिद प्रक्रियामा सहभागी १० मध्ये ७ कम्पनी प्राविधिक रूपमा पास भएका थिए। त्यसपछि आर्थिक प्रतिस्पर्धामा उत्रिएका ७ मध्ये सबैभन्दा कम अर्थात १ अर्ब १० करोड रुपैयाँको प्रस्ताव पेस गर्ने युसिन–एआरटी जेभीले ठेक्का पायो। यससँगै सात दिनको सूचना प्रकाशन गरी १५ दिनभित्र सम्झौता गर्ने तयारी छ।

आयोजना निर्देशक सौजन्य नेपालका अनुसार सम्झौतापछि तीन महिनाभित्र सुरुङ पूर्ण रूपमा सञ्चालनमा आइसक्नेछ। वैशाख अन्तिमसम्म परीक्षण सञ्चालन गर्ने लक्ष्य छ। सञ्चालनको जिम्मा पाउने कम्पनीले पाँच वर्षसम्म सुरुङको मर्मत, ट्राफिक व्यवस्थापन, उद्धार, टोल उठाउने र २.८ किलोमिटर पहुँच सडकको रेखदेख गर्नुपर्नेछ।

सुरुङ सञ्चालनमा करिब १५० जनशक्ति खटिनेछन्। उनीहरूलाई दुई महिने तालिम दिइनेछ। सेवाप्रदायक कम्पनीले चौबीसै घण्टा, ३६५ दिन सुरुङ सञ्चालन र व्यवस्थापन गर्नुपर्नेछ। उठेको टोल रकम भने दैनिक सडक बोर्डको खातामा जम्मा गर्नुपर्ने व्यवस्था छ।

सरकारले सुरुङको टोल शुल्क तोकिसकेको छ:

· कार तथा भ्यान: काठमाडौं भित्रिँदा ६५ रुपैयाँ, बाहिरिँदा ६० रुपैयाँ
· मिनीबस, ट्रक, टिपर: भित्रिँदा ११५, बाहिरिँदा ८० रुपैयाँ
· बस, ट्रक: भित्रिँदा २६०, बाहिरिँदा २०० रुपैयाँ
· ठूला ट्रक तथा हेभी सवारी: भित्रिँदा ६००, बाहिरिँदा २५० रुपैयाँ

पैदलयात्री, दुईपाङ्ग्रे, तीनपाङ्ग्रे तथा विस्फोटक पदार्थ बोकेका सवारीलाई भने सुरुङमा प्रवेश निषेध गरिएको छ।

निर्देशिका–२०८१ जारी भइसकेको छ। ४ कात्तिक २०७६ मा सुरु भएको सुरुङ निर्माणको काम ९८ प्रतिशत सकिएको छ। सुरुङको मुख्य लम्बाइ २६८८ मिटर तथा आपतकालीन सुरुङ २५५७ मिटर छ। जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले निर्माण गरिरहेको यो सुरुङ निर्माणको म्याद १२ वैशाख २०८३ सम्म हो।

जापानको १६ अर्ब र नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी रहेको यो आयोजनामा अझै साढे ५ अर्ब थप ऋणको प्रक्रिया अर्थ मन्त्रालयमा विचाराधीन छ। सुरुङ सञ्चालनको जिम्मा पाउने कम्पनी छनोटमा ढिलाइ भएकै कारण सुरुङ सञ्चालनमा ढिला भएको आयोजना कार्यालयले जनाएको छ। तर अब वैशाखदेखि नै सुरुङको परीक्षण सञ्चालन हुने आशा गरिएको छ।f

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button