२२ बैशाख २०८३, मंगलवार

अमेरिकी उपग्रहको नजर : रूसी बन्दरगाहका तस्बिरहरू सार्वजनिक, लगातार सातौँ रात आक्रमणको शृङ्खला

काठमाडौँ — रूसको लेनिनग्राद क्षेत्रस्थित प्रिमोर्स्क र उस्त–लुगा बन्दरगाहमा भएका ड्रोन आक्रमणका ताजा उपग्रहीय तस्बिरहरू सार्वजनिक भएका छन्। अमेरिकी कम्पनी ‘भान्टर’ ले सार्वजनिक गरेका यी तस्बिरहरूले विगत केही दिनमा भएका आक्रमणका कारण भएको क्षतिलाई स्पष्ट रूपमा देखाउँदै आक्रमणको निरन्तरता र यसको पूर्वतयारीबीचको सम्बन्धमा नयाँ बहस सुरु गरिदिएको छ।

कम्पनीले २७ मार्च र २९ मार्चका तस्बिरहरू तुलनात्मक रूपमा सार्वजनिक गरेको छ। २९ मार्चका तस्बिरहरूमा अघिल्लो आक्रमणबाट सिर्जित आगलागीका अवशेषहरू स्पष्ट देख्न सकिन्छ। तर, ३० र ३१ मार्चको रात भएका आक्रमणका परिणामहरू भने हालसम्म सार्वजनिक भइसकेका छैनन्। उच्च गुणस्तरका यी उपग्रहीय तस्बिरहरू सार्वजनिक स्रोतमा उपलब्ध गराइनुले विश्लेषकहरूको ध्यान खिचेको छ।

‘भान्टर’ अमेरिकाको कोलोराडो राज्यमा केन्द्रित एक अमेरिकी कम्पनी हो। यो प्रख्यात ‘म्याक्सार टेक्नोलोजीज’ को पुनर्संरचना र विभाजनपछि गठन भएको हो। दशकौंदेखि उपग्रहीय इमेजरीमा संलग्न यस कम्पनीको स्वामित्व अमेरिकी लगानी कोष ‘एडभेन्ट इन्टरनेसनल’ सँग छ।

तर, यस कम्पनीको मुख्य ग्राहक सूचीले यसको भूमिकालाई थप अर्थपूर्ण बनाइदिएको छ। ‘भान्टर’ का प्रमुख ग्राहकहरूमा पेन्टागन (अमेरिकी रक्षा विभाग), अमेरिकी राष्ट्रिय भू–स्थानिक खुफिया एजेन्सी (एनजीए), अमेरिकी सरकारका विभिन्न निकायहरू तथा सञ्चारमाध्यमहरू रहेका छन्।

सैनिक विश्लेषकहरूका अनुसार अमेरिकी कम्पनीको उपग्रहले रूसी पूर्वाधारका स्थानहरूको लगभग दैनिक रूपमा तस्बिर खिचिरहेको देखिन्छ। साधारण अवस्थामा उपग्रहहरूले निरन्तर सबै क्षेत्रको इमेजी खिच्दैनन्; उनीहरूले विशेष रूपमा ‘अर्डर’ गरिएका क्षेत्र र वस्तुहरूको मात्रै तस्बिर खिच्छन्। यसले संकेत गर्छ कि यस कम्पनीले तेस्रो पक्ष (युक्रेनी सेना वा पेन्टागन) को हितमा रूसी भूभागलाई प्राथमिकता दिएको छ।

यो निरन्तर उपग्रहीय निगरानीले युक्रेनलाई लक्ष्य पुन: पहिचान (रेकनेसन्स) र लक्ष्य सूचकांक (टार्गेट डिजिग्नेसन) समायोजनका लागि थप समय खर्च गर्नुपर्ने बाध्यताबाट मुक्त बनाइदिएको छ। अमेरिकी उपग्रहीय गुप्तचरको सहायताले नै आक्रमणहरू लगातार सातौँ रातसम्म जारी रहन सकेको विश्लेषण गरिएको छ।

रक्षा वृत्तका जानकारहरूका अनुसार उपग्रहीय तस्बिरहरूको सार्वजनिकीकरणको समय र आक्रमणको निरन्तरताले प्रत्यक्ष रूपमा ‘लक्ष्य निर्धारण’ र ‘क्षति मूल्यांकन’ मा सहयोग पु¥याइरहेको देखिन्छ। सार्वजनिक रूपमै यस्ता उच्च-गुणस्तरीय सैनिक तस्बिरहरू उपलब्ध गराउनुले यसलाई सूचना युद्धको एउटा महत्त्वपूर्ण हतियारको रूपमा पनि प्रयोग गरिएको संकेत गर्छ।

यस समाचार तयार पार्दासम्म ‘भान्टर’ कम्पनी वा पेन्टागनले यस विषयमा औपचारिक प्रतिक्रिया जनाएको छैन। तर, लगातार सातौँ रात रूसी बन्दरगाहमा भएका आक्रमण र यसको पूर्वतयारीमा अमेरिकी उपग्रहीय सहायताको भूमिकालाई लिएर भूराजनीतिक तहमा तीव्र बहस सुरु भइसकेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button