एमाले संसदीय दलको नेतृत्व चयन : ‘पुस्तान्तरणमा कन्जुस्याइँ, सुहाङको तयारी कमजोर’

काठमाडौं — नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्वाचित भएपछि झापाका कमल पौडेलले सार्वजनिक अभिव्यक्ति मार्फत नेतृत्व चयन प्रक्रियाका केही तथ्यहरू औंल्याएका छन्। उनले पार्टीभित्र पुस्तान्तरणको माग बलियो देखिए पनि नेतृत्वले युवालाई विश्वास गर्न कन्जुस्याइँ गरेको टिप्पणी गरेका छन्।
पौडेलले आफ्नो अभिव्यक्तिमा भनेका छन्, ‘बाहिर हल्ला गरिएजस्तो पूर्व एमाले र पूर्व माओवादी खेमा नेकपा (एमाले) मा विद्यमान छैन। केवल नेकपा (एमाले) छ।’ उनले पार्टी नेतृत्वले अझै पनि पुस्तान्तरण गर्न र युवालाई विश्वास गर्न कन्जुस्याइँ गरेको देखिएको बताए।
नेता सुहाङ नेम्बाङको सन्दर्भ उठाउँदै पौडेलले भने, ‘सुहाङ नेम्बाङले संसदीय दलको नेता हुन इच्छा गरेका नै थिए भने त्यसका लागि अवलम्बन गरिने सहमति र निर्वाचनको दुबै विधिमा उनको तयारी कमजोर देखियो।’ उनले ढिलो आएको सुझाव दिँदै भने, ‘पार्टीले सिनियरिटी बेसमा संसदीय दलको नेता चयन गर्ने तयारी गरेको थियो भने यो विषय पहिले नै आफ्ना सांसदहरूलाई कन्भिन्स गर्नुपर्थ्यो। सुहाङले पनि आफ्नो तयारी थियो भने पार्टीसँग र पार्टीका अन्य सांसदसँग निर्णायक छलफल गर्नुपर्थ्यो।’
पौडेलले सुहाङले प्रस्तावक र समर्थक नपाउनु, शंकर पोखरेलले हस्तक्षेप गर्नुजस्ता विषयलाई लिएर ‘अन्य मानिस र मिडियाले गीत गाउने, वमन गर्ने स्थिति निर्माण नगरेको भए हुने’ बताए। उनले यस्तो केटाकेटीपनबाट सबै अलि हुर्किनुपर्ने धारणा व्यक्त गरे।
पौडेलले दुई महत्वपूर्ण प्रश्न पनि उठाएका छन् :
‘लगातार तीन पटक संसदीय निर्वाचन जितेका राजेन्द्र राई किन संसदीय दलको नेता बन्न सकेनन् वा किन आँट गरेनन् ?’ र ‘लिपुलेक–लिम्पियाधुराको भूगोलबाट लगातार दुई पटक निर्वाचित गणेश ठगुन्ना किन बन्न सकेनन् वा किन आँट गरेनन् ?’
पौडेलको यो अभिव्यक्तिले एमालेको संसदीय दलको नेतृत्व चयन प्रक्रियाप्रति पार्टीभित्रै विभिन्न धारणा रहेको संकेत गरेको छ। उनले उठाएका प्रश्नहरूले पार्टीको आन्तरिक लोकतन्त्र, पुस्तान्तरण र नेतृत्व चयनको मापदण्डबारे थप बहसको विषय बनेका छन्। एमालेले भने आफ्नो संसदीय दलको नेताको रूपमा रामबहादुर थापा बादललाई चयन गरेपछि सबै सांसदहरूको सहमति रहेको बताइसकेको छ।





