२२ बैशाख २०८३, मंगलवार

प्रहरीले मिडियाको नाम दुरुपयोग गरी जेन्जी नेतृ धरपकड ? : स्मृति तिमिल्सिनाको गम्भीर आरोप

काठमाडौं — जेन्जी रेडफोर्सकी संयोजक स्मृति तिमिल्सिनालाई धरपकड गर्न प्रहरीले मिडियाको नाम दुरुपयोग गरेको गम्भीर आरोप बाहिरिएको छ। महिला प्रहरीले आफू केन्द्रविन्दु टेलिभिजनबाट बोलेको भन्दै अन्तर्वार्ताका लागि बोलाएको र सोही बहानामा नियन्त्रणमा लिई धम्की दिएको तिमिल्सिनाले आरोप लगाएकी छन्।

तिमिल्सिनाका अनुसार प्रहरीले पहिले अन्तर्वार्ताको प्रस्ताव गर्दै एक क्याफेमा एक्लै बोलाएका थिए। उनले इन्कार गर्दा प्रहरीले आफू पनि कम्युनिष्ट विचारधाराकै भएको र यतिबेला कम्युनिष्ट आन्दोलन कमजोर भइरहेको बेला सो विचारधारालाई मिडियामा ल्याउन आवश्यक भन्दै मनाएको उनको आरोप छ।

अन्ततः उनी अन्तर्वार्ताका लागि तयार भएपछि क्याफेमा पुगेकी तिमिल्सिनालाई तीन जना प्रहरीले नियन्त्रणमा लिई त्रासपूर्ण वातावरण सिर्जना गर्दै निजी गाडीमा राखेर प्रहरी कार्यालयसम्म पुर्याएको र ‘यस्तो उस्तो नबोल्नु’ भन्दै धम्की दिइएको उनको भनाइ छ।

यदि यो घटना सत्य हो भने यस्तो कार्यले कानूनको शासन, प्रेस स्वतन्त्रता र नागरिक अधिकारमाथि गम्भीर प्रश्न उठाउँछ। सुरक्षाको जिम्मेवारी बोकेको निकायबाटै मिडियाको नाम दुरुपयोग गरी नागरिकलाई नियन्त्रणमा लिने यो प्रवृत्तिले लोकतन्त्र र प्रेस स्वतन्त्रताको मर्ममाथि नै आघात पुगेको विज्ञहरूले बताएका छन्।

यस विषयमा निष्पक्ष छानबिन भई सत्य सार्वजनिक हुनु अत्यन्त आवश्यक रहेको छ। साथै, सुरक्षाको जिम्मेवारी बोकेका निकायबाटै यसरी मिडिया दुरुपयोग भएको भए त्यसको छानबिनका लागि पत्रकार महासंघ लगायत सरोकारवाला निकायहरू पनि सचेत हुन जरुरी रहेको धारणा व्यक्त गरिएको छ।

यो घटनाको सत्यता पुष्टि नभएसम्म भने प्रहरी पक्षले कुनै प्रतिक्रिया दिएको छैन। तर, सामाजिक सञ्जालमा यो विषयले निकै चर्चा पाइरहेको छ भने मानवअधिकार तथा प्रेस स्वतन्त्रताका क्षेत्रमा काम गर्ने संस्थाहरूले यस विषयमा गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

तस्वीर : एआई (सांकेतिक)

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button