२१ बैशाख २०८३, सोमबार

अर्थमन्त्रीको भनाइ : माछा टाउकोबाट कुहिन्छ, गभर्नर हाँसे

काठमाडौं – राजनीतिक उतारचढावका बीच अर्थ मन्त्रालयको कमाण्ड सम्हालेपछि डा. स्वर्णिम वाग्ले र राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलबीचको सम्बन्ध कस्तो हुने भन्ने चासो स्वाभाविकै थियो। यी दुईबीच घनिष्ठ मित्रतादेखि घोचपेचको सम्बन्धसम्मको यात्रा तय भइसकेको छ। तर शुक्रबार अर्थमन्त्री वाग्लेको पदभार ग्रहणपछिको मन्तव्यले भने यी दुईबीचको ‘केमेस्ट्री’लाई नयाँ कोण दियो।

भाषणको क्रममा अर्थमन्त्री वाग्लेले नेतृत्वको इमानदारितालाई सबैभन्दा महत्त्वपूर्ण बताउँदै एउटा चिनियाँ उखान सुनाए। उनले भने, ‘एउटा चिनियाँ उखान पनि छ। गभर्नर साप त चिनियाँ भाषाको राम्रो ज्ञाता पनि हुनुहुन्छ। फिस रट्स फ्रम द हेड अर्थात माछा कुहिन थाल्यो भने टाउकोबाट कुहिन्छ। टाउको राम्रो भयो भने तल बिग्रिन समय लाग्छ, तर टाउकै बिग्रियो भने सबै बिग्रिन्छ।’

उनले गभर्नर पौडेल चिनियाँ भाषा बुझ्ने भन्दै उक्त उखान उल्लेख गरे। वाग्लेको यो भनाइपछि गभर्नर पौडेल मुसुक्क हाँसे। यो दृश्यले उपस्थित सबैको ध्यान आफूतिर तान्यो।

केही समयअघिसम्म राजनीतिक सहयात्रीका रूपमा रहेका यी दुई नेताबीचको सम्बन्धमा पछिल्लो समय केही तिक्तता छाएको चर्चा सार्वजनिक हुँदै आएको थियो। पार्टीभित्रको आन्तरिक राजनीति र सत्ताको समीकरणले यी दुईबीचको दूरी बढाएको विश्लेषण गरिन्थ्यो। तर अर्थमन्त्री वाग्लेले आफ्नो पहिलो औपचारिक कार्यक्रममै गभर्नरको चिनियाँ भाषाको ज्ञानको प्रशंसा गर्दै उक्त उखान सुनाउनुले भने धेरैको ध्यान तानेको छ।

स्रोतका अनुसार पछिल्लो समय अर्थतन्त्रका विषयमा यी दुईबीच विचारको सामञ्जस्यता नमिलेका घटनाका कारण सम्बन्धमा दूरी सिर्जना भएको थियो। अर्थमन्त्री वाग्लेले केही दिनअघि मात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गभर्नर पौडेलको बैंकिङ प्रणालीमा देखिएको ‘चुहावट’बारे ध्यानाकर्षण गराएपछि पनि चर्चाको विषय बनेको थियो। तर शुक्रबारको कार्यक्रममा वाग्लेको मन्तव्यपछि गभर्नर पौडेलको हाँसोले भने सहजीकरणको सन्देश दिएको आकलन गरिएको छ।

अर्थविदहरू भने यसलाई नेतृत्वको इमानदारिताको पक्षमा अर्थमन्त्रीले गरेको स्पष्ट संकेतका रूपमा हेर्छन्। उनीहरूका अनुसार चिनियाँ उखान ‘माछा टाउकोबाट कुहिन्छ’ भन्नुले संस्थागत सुशासनका लागि शीर्ष नेतृत्व इमानदार हुनुपर्नेमा अर्थमन्त्रीले जोड दिएको स्पष्ट हुन्छ।

अर्थमन्त्री वाग्ले र गभर्नर पौडेलबीचको सम्बन्धको यो नयाँ अध्यायले आगामी दिनमा आर्थिक नीति निर्माण र कार्यान्वयनमा सहकार्यको मार्गचित्र बन्नेछ कि भन्ने चासो पनि व्याप्त बनेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button