२१ बैशाख २०८३, सोमबार

चार दलका संसदीय नेताको पृष्ठभूमि एउटै : ‘माओवादी’

काठमाडौं । संसदीय राजनीतिको यो संख्याको गणितले भन्दा पनि इतिहासको गहिराइले मात्र बुझिने एउटा रोचक तथ्य सतहमा आएको छ। हालको प्रतिनिधिसभामा कांग्रेस र राप्रपा बाहेकका चार दलका संसदीय नेताहरू एउटै जनयुद्धको भूमिबाट उठेका अनुहारहरू हुन्। चार फरक पार्टीका नेताको राजनीतिक गन्तव्य फरक भए पनि उद्गमस्थल भने एउटै छ : माओवादी।

यसरी प्रतिनिधिसभाको अग्रपंक्तिमा माओवादी पृष्ठभूमिका चार अनुहार सँगै आउनु आफैँमा राजनीतिक अर्थ बोकेको दृश्य हो।

पहिलो नम्बरमा हुन्– बालेन्द्र शाह। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनावमा प्रधानमन्त्रीको अनुहारका रूपमा अघि सारेका यी नेता आज सदनमा पार्टीको संसदीय दलको नेतृत्व गर्छन्। तर राजनीतिक यात्राको आरम्भमा उनी विद्यार्थी कालमा अखिल क्रान्तिकारीको इन्जिनियरिङ विश्वविद्यालय समितिका सदस्य थिए। त्यो संगठन माओवादीको भातृ संगठन हो। कुनै समय माओवादीको राजनीतिक प्रभावमा रहेका बालेन आज फरक पार्टीको नेतृत्व गरिरहेका छन्, तर त्यो पृष्ठभूमिले भने राजनीतिक वृत्तमा उनलाई छुट्टै स्थान दिएको छ।

त्यस्तै, नेकपा एमालेको संसदीय दलको नेतृत्व गर्ने रामबहादुर थापा ‘बादल’को राजनीतिक यात्रा पनि माओवादी जनयुद्धकै केन्द्रमा रहेर अघि बढेको थियो। उनी माओवादी जनयुद्धका सैन्य रणनीतिकारका रूपमा परिचित छन्। जनयुद्धका क्रममा उनले तत्कालीन नेपाली सेनासँगको युद्धदेखि राजनीतिक सैद्धान्तिक मार्गदर्शनसम्म महत्वपूर्ण भूमिका खेले। पछिल्लो राजनीतिक समीकरणमा भने उनी एमालेमा आबद्ध भएर सदनको प्रमुख प्रतिपक्षी दलको नेतृत्व गर्दैछन्।

तेस्रो हुन्– पुष्पकमल दाहाल ‘प्रचण्ड’। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको नेतृत्व गरिरहेका प्रचण्ड त माओवादी आन्दोलनकै पर्यायवाची मानिन्छन्। उनले माओवादी जनयुद्धको नेतृत्वदेखि शान्ति प्रक्रियापछिको राजनीतिक यात्रामा माओवादी पार्टीको अगुवाइ गर्दै आएका थिए। पछिल्लो राजनीतिक घटनाक्रममा उनी माओवादी केन्द्रबाट अलग भएर नेकपा बनाए पनि उनको राजनीतिक पहिचान माओवादी पृष्ठभूमिबाटै आएको हो।

चौथो नाम हो– हर्क साम्पाङ। श्रम संस्कृति पार्टीको संसदीय दलको नेतृत्व गरिरहेका साम्पाङ पनि माओवादी जनयुद्धको अन्त्यतिर माओवादी राजनीतिमा सक्रिय भएका थिए। जनयुद्धको मर्म र विचारबाट प्रभावित भएर राजनीतिमा होमिएका उनी पछिल्लो समय भिन्न राजनीतिक धारमा उभिए पनि उनको राजनीतिक सुरुवात भने माओवादी आन्दोलनसँगै जोडिएको छ।

यो चारै अनुहार आज प्रतिनिधिसभामा फरक–फरक पार्टीको संसदीय दलको नेताको रूपमा उपस्थित छन्। कांग्रेस र राप्रपा मात्र यो सूचीबाट बाहिर छन्। अर्थात, कांग्रेस र राप्रपाबाहेक सबै दलको संसदीय नेतृत्व माओवादी पृष्ठभूमिबाट आएको राजनीतिक नेतृत्वले सम्हालेको छ।

राजनीतिक विश्लेषकहरू यसलाई नेपाली राजनीतिको एउटा अनौठो गणितका रूपमा हेर्छन्। दशक लामो जनयुद्ध, शान्ति प्रक्रिया र त्यसपछिको राजनीतिक उथलपुथलले एउटै धारबाट निस्केका नेताहरूलाई विभिन्न राजनीतिक धारमा पुर्याएको तर उनीहरूको मूल पहिचान भने एउटै रहेको यसले देखाउँछ। माओवादी आन्दोलनले देशको राजनीतिक परिदृश्यमा पुर्याएको परिवर्तनको यो एउटा दस्तावेज हो, जहाँ त्यही आन्दोलनबाट उठेका व्यक्तित्वहरू आज विभिन्न पार्टीको नेतृत्वमा रहेर सदनको गणित तय गरिरहेका छन्।

यो संयोग मात्र हो वा नेपाली राजनीतिको गहिरो संरचनागत परिवर्तनको परिणाम, यसले भने भविष्यको राजनीतिक समीकरण पनि सङ्केत गर्न थालेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button