२१ बैशाख २०८३, सोमबार

‘हस्तक्षेप’ को राजनीति : सुदन किराँती राजीनामापछि हर्कतिर, प्रलोपामा भने निर्णय टुंगोमा नपुग्दा अन्योल

काठमाडौं – प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मा अध्यक्ष परिषदका सदस्य सुदन किराँतीले राजीनामा दिएपछि पार्टीभित्र नयाँ राजनीतिक समीकरण बन्ने संकेत देखिएको छ। चुनावी परिणामलाई कारण देखाउँदै उनले राजीनामा दिएको प्रलोपा स्रोतले जनाएको छ। तर, पार्टीले हालसम्म उक्त राजीनामा स्वीकृत गरेको छैन।

गत ८ मंसिरमा गठन भएको प्रलोपामा किराँतीसहित दुर्गा सोब, ओजस्वी भट्टराई, सन्तोष परियार र अशोक जैसवाल अध्यक्ष परिषदका सदस्य छन्। स्रोतका अनुसार सोब र भट्टराईले पनि राजीनामा दिएका छन्। तर, अध्यक्ष परिषदका सदस्य सन्तोष परियारले भने राजीनामा आएको कुरा स्वीकारेका छैनन्। उनले पार्टी सञ्चालनको विषयमा केही असन्तुष्टि देखिएको जानकारी दिए।

यही असन्तुष्टिबारे आज बुधबार अध्यक्ष परिषदको बैठक बसेको थियो। तर, उक्त बैठकले कुनै ठोस निर्णय गर्न सकेन। आगामी केन्द्रीय कमिटी बैठक बोलाउने विषयमा मात्र छलफल भएको परियारले बताए।

बुधबारको बैठकमा किराँतीले ‘राजीनामा दिइसकेको हुँदा नैतिक रूपमा बैठकमा उपस्थित हुन असमर्थ रहेको’ भन्दै भर्चुअल माध्यमबाट सूचना पठाएका थिए। साथै, उनले आफ्नो राजीनामा स्वीकृत गर्न समेत आग्रह गरेका छन्।

प्रलोपा घोषणा गर्ने मुख्य अनुहारहरूमा माओवादीका पूर्वउपमहासचिव जनार्दन शर्मा, रास्वपाका पूर्वप्रमुख सचेतक सन्तोष परियार र नेसपा (नयाँ शक्ति) का संयोजक दुर्गा सोब थिए। शर्मा, राम कार्की र बाबुराम भट्टराई निर्देशक समितिमा रहेर पार्टी सञ्चालन गर्दै आएका छन्।

युवालाई नेतृत्व हस्तान्तरण गरिएको भनिए पनि हरेक निर्णयमा ‘हस्तक्षेप’ भएको भन्दै किराँतीले लामो समयदेखि असन्तुष्टि जनाउँदै आएका थिए। २१ फागुनको चुनावमा किराँतीले आफ्नो गृहजिल्ला भोजपुरमा र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईसँग उम्मेदवार बनेको सुनसरी–१ (धरान) मा प्रलोपाले सहयोग गर्ने निर्णयप्रति भट्टराई, शर्मा र कार्की असन्तुष्ट बनेको स्रोतको भनाइ छ।

पार्टीले किराँतीलाई कारबाही गर्ने संकेत दिएपछि उनले राजीनामा दिएर हर्कराज राईसँग संवाद अघि बढाएको बुझिएको छ। भोजपुरमा धुर्व राई र धरानमा हर्कराज राईलगायतलाई जिताउन भूमिका खेलेका किराँती अहिले हर्कसँग सहकार्यतर्फ अग्रसर भएका हुन्।

श्रमसंस्कृति पार्टीका एक नेताका अनुसार किराँतीसहितको शक्तिलाई पार्टीमा भित्र्याउन सके थप बल पुग्ने विश्वासका साथ पहल भइरहेको छ। निर्णायक छलफलका लागि उनीहरूबीच वार्ता समिति गठन गर्ने तयारी भएको छ।

‘पार्टी एकता दुवै पक्षको हितमा हुनुपर्छ भन्ने हाम्रो धारणा छ,’ श्रमसंस्कृति पार्टी स्रोतले भन्यो, ‘यो शक्तिलाई अझ बलियो बनाउँदै माटो सुहाउँदो राष्ट्रिय शक्ति निर्माण गर्ने हाम्रो प्रयास हो। छिट्टै यसबारे स्पष्ट जानकारी आउनेछ।’

यता, प्रलोपामा भने राजीनामाको विषय टुंगोमा पुग्न नसक्दा अन्योल कायमै छ। किराँतीसहित तीन जना अध्यक्ष परिषदका सदस्य राजीनामाको पक्षमा देखिए पनि पार्टी नेतृत्वले भने यसलाई औपचारिकता दिएको छैन। आगामी केन्द्रीय समिति बैठकले यो विषयलाई कसरी सम्बोधन गर्छ भन्ने विषयले प्रलोपाको भविष्य र हर्कसँगको सम्भावित सहकार्यको दिशा तय गर्ने देखिन्छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button