२१ बैशाख २०८३, सोमबार

रास्वपाको ‘जादूमय विजय’ मा सेना, टीओबी र एआईको खेल : एमाले नेताको गम्भीर आरोप

काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठकमै एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विजयलाई लिएर चर्को आरोप लगाएका छन्। उनले रास्वपाको ‘चामत्कारिक’ विजयमा नेपाली सेनादेखि विभिन्न ‘दृश्य र अदृश्य’ शक्तिहरूको निर्णायक भूमिका रहेको आरोप लगाउँदै यो नतिजा प्राकृतिक नभएको संकेत गरे।

बैठकमा बोल्दै थापाले मुख्यत: नेपाली सेना, ब्युरोक्रेसी, सुशीला सरकार, कार्की आयोग र बारबार फाउन्डेसनजस्ता संस्था तथा पात्रहरूले रास्वपालाई विजयी बनाउन निर्णायक भूमिका खेलेको दाबी गरे। ‘यो जादूमय विजयका पछाडि कसको हात छ, असंख्य तथ्यले स्पष्ट पार्छन्,’ उनले भने।

उनले अदृश्य शक्तिहरूको पनि चर्चा गर्दै भने, ‘टीओबी, एआई, अल्गोरिदम, गोयबल्सहरू – यी ती शक्तिहरू हुन् जसले राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र, संघीयता, शान्ति र समृद्धिका नायकहरूलाई खुँखार खलनायक र हत्याराका रूपमा स्थापित गरे। देश जलाउने र आफ्नो राष्ट्रिय पहिचान मेटाउने खलपात्रलाई महानायक बनाइदिए।’

रास्वपाको विजयलाई ‘चामत्कारिक’ संज्ञा दिँदै थापाले यसले केही असाधारण प्रश्नहरू जन्माएको पनि उल्लेख गरे। ‘कुन उद्देश्यका लागि सिंहदरबार, शीतल निवास, सर्वोच्च अदालत, बालुवाटार, प्रहरी चौकी, पार्टी कार्यालय सुनियोजित ढंगले जलाइयो? कसले अबोध विद्यार्थीहरूलाई निषेधित क्षेत्र तोड्न उक्सायो?’ उनले प्रश्न गर्दै भने, ‘हतियारबद्ध टीओबीहरू भदौ २३–२४ गते तिलस्मी रूपमा प्रकट भए।’

यसैगरी, थापाले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई गैरकानुनी ढङ्गले पक्राउ गरिएको भन्दै तीव्र असन्तुष्टि व्यक्त गरे। उनले सरकारको यो कदमलाई अन्यायपूर्ण ठहराउँदै न्यायिक प्रक्रियाप्रति गम्भीर प्रश्न उठाए।

थापाको यो अभिव्यक्तिले प्रतिनिधिसभाको पहिलो बैठकमै सत्तारूढ र प्रतिपक्षी दलबीचको तातारतालाई उजागर गरेको छ। रास्वपाप्रति लगाइएको यो गम्भीर आरोपले आगामी दिनमा संसदीय राजनीतिलाई झनै तीव्र बनाउने संकेत गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button