२१ बैशाख २०८३, सोमबार

हिरासतमा ओली र लेखक : एउटा शिक्षण अस्पतालमा, अर्को प्रहरी गणमा

काठमाडौं । जेन–जी आन्दोलनबारे जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदनका आधारमा गत शनिबार पक्राउ परेका एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले स्वास्थ्य र सुरक्षाका दृष्टिले अलग–अलग स्थानमा राखी अनुसन्धान जारी राखेको छ।

पक्राउ परेलगत्तै वृद्धावस्था र मिर्गौला प्रत्यारोपण गरिसकेका ओलीको स्वास्थ्य परीक्षणका लागि शनिबार नै शिक्षण अस्पताल भर्ना गरिएको थियो। अहिले पनि उनी चिकित्सकको प्रत्यक्ष निगरानीमै रहेर अनुसन्धानको प्रक्रियामा छन्। अदालतले ओलीलाई बयान तथा अन्य अदालती प्रक्रियाहरू भिडियो कन्फरेन्समार्फत गर्ने व्यवस्था मिलाएको छ। यसले स्वास्थ्यको चुनौतीका बीच कानुनी प्रक्रियालाई निरन्तरता दिन प्रहरी र अदालत सचेत रहेको देखिन्छ।

लेखकलाई भने प्रहरी गणमै कडा सुरक्षाबीच राखिएको छ। उनी हाल नेपाल प्रहरीको २ नम्बर गण, महाराजगञ्जमा छन्। पक्राउ परेका दुबै नेता वार्षिकी शोक अवधिमा रहेकाले उनीहरूको दैनिकी उस्तै देखिन्छ। प्रहरी स्रोतका अनुसार उनीहरूले हिरासतमा रहँदा पनि घरपरिवारबाट ल्याइएको खानेकुरा मात्र सेवन गरिरहेका छन्।

एक प्रहरी अधिकृतले भने, ‘उहाँहरू दुवैजना अभिभावक गुमाएको वार्षिकी शोकमा हुनुहुन्छ, त्यसैले खानादेखि पानीसम्म परिवारले ल्याएको मात्र प्रयोग गरिरहनुभएको छ। प्रहरी गणमै भए पनि लेखकज्यूले पनि घरबाटै ल्याइएको खानेकुरा र पानी प्रयोग गरिरहनुभएको छ।’

सुरक्षाका दृष्टिले दुबै नेतासँगको भेटघाटमा प्रहरीले कडाइ गरेको छ। परिवारका सदस्य र कानुनी व्यवसायीबाहेक अन्य व्यक्तिलाई सहज रूपमा भेट्न अनुमति नदिइएको प्रहरीले जनाएको छ। दुबै नेता फरक–फरक स्थानमा रहे पनि उनीहरूको हिरासत अवधिको दिनचर्या र सुविधा भने समान रहेको देखिन्छ। अब यी दुबै नेतामाथि जेन–जी आन्दोलनका क्रममा भएका घटनाको सिलसिलामा कस्तो कानुनी कारबाही अघि बढ्छ भन्ने विषयले नेपाली राजनीतिको गतिलाई नै निर्धारण गर्ने देखिन्छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button