२१ बैशाख २०८३, सोमबार

संसदमा हर्कको चुनौती : एमसीसी खारेज गर, सीमा एकिन गर्न सेना पठाऊ

काठमाडौं । श्रम संस्कृति पार्टी (श्रसपा) का अध्यक्ष हर्कराज राईले प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता तत्काल खारेज गर्न माग गरेका छन्। बिहीबारको बैठकमा बोल्दै उनले देशको स्वाधीनता, भूराजनीतिक सन्तुलन र असंलग्न परराष्ट्र नीतिको संरक्षणका लागि एमसीसी खारेज हुनुपर्ने तर्क राखे।

राईले कुनै पनि असमान र राष्ट्रघाती व्यापारिक सन्धि नेपालका लागि स्वीकार्य नहुने बताए। उनले एमसीसी सम्झौतालाई सैन्य रणनीतिक उद्देश्यसहित अघि बढाइएको दाबी गर्दै त्यसलाई तत्काल खारेज गर्न सरकारको ध्यानाकर्षण गराए। ‘देशको स्वाधीनता, भूराजनीतिक सन्तुलन र असंलग्न परराष्ट्र नीतिलाई बचाइराख्न, सैन्य रणनीतिक उद्देश्यका साथ सुरु गरिएको असमान, राष्ट्रघाती व्यापारिक सन्धि सम्झौता एमसीसीलाई खारेज गर्नुपर्छ भनेर म माग गर्न चाहन्छु,’ उनले भने।

अध्यक्ष राईले सीमावर्ती क्षेत्रमा छिमेकी मुलुकहरूले गरिरहेको गतिविधिलाई सक्रिय रूपमा निगरानी राख्नसमेत सरकारको ध्यानाकर्षण गराए। ‘सीमावर्ती क्षेत्रमा छिमेकी मुलुकहरूले गरिरहेको गतिविधिलाई सक्रिय रूपमा नेपाल सरकारले निगरानी राख्नुपर्छ,’ उनले भने, ‘र संयुक्त राष्ट्रसंघमार्फत नेपालको सीमाना यकिन गरी त्यसको रक्षार्थ नेपाली सेनालाई खटाउनुपर्छ भन्ने म माग राख्न चाहन्छु।’

उनले सीमावर्ती क्षेत्रमा छिमेकी मुलुकहरूको गतिविधि बढ्दै गएको उल्लेख गर्दै त्यसप्रति सरकार गम्भीर हुनुपर्ने बताए। राईले संयुक्त राष्ट्रसंघमार्फत नेपालको सीमा यकिन गर्ने र त्यसको सुरक्षाका लागि नेपाली सेनालाई प्रभावकारी रूपमा परिचालन गर्न पनि माग गरे। उनको यो अभिव्यक्तिले संसदीय मञ्चमा परराष्ट्र नीति, सीमा सुरक्षा र अन्तर्राष्ट्रिय सन्धिको विषयलाई ताजा बनाएको छ। एमसीसी कार्यान्वयनको पक्षमा रहेका दलहरूले भने राईको यो मागलाई तत्काल असम्भव र अव्यावहारिक भन्दै प्रतिकार गर्ने सम्भावना देखिन्छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button