कांग्रेस सांसद आङदेम्बेको चुनौती : ‘२३ को दमन किन नदेख्ने, २४ को ध्वंस मात्र ?’

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसद भीष्मराज आङदेम्बेले भदौ २३ र २४ गतेका एक–एक घटनालाई केलाउन जरुरी रहेको बताएका छन्। उनले कार्की आयोगको प्रतिवेदनमाथि नै शंका गर्दै यसलाई सार्वजनिक गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गरे।
बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै आङदेम्बेले आयोगको प्रतिवेदनप्रति आफ्नो असन्तुष्टि राखे। ‘कसैले २३ गतेको दमन नदेख्ने, २४ गतेको ध्वंस देख्ने। कसैले २४ गतेको नदेख्ने,’ उनले भने, ‘आयोगले २३ गतेको घटनाको अनुसन्धान र कारबाही सिफारिस गर्यो तर २४ गतेको भ्याइएन भन्यो। आयोगका सदस्यबाट नियतवश भएको होइन भन्न सकिँदैन।’
उनले कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराए। ‘यो सरकारले सार्वजनिक गर्ने कि सरकारले पनि गोरखापत्र पढ्ने?’ उनले प्रश्न गरे। यसो भन्दै उनले सरकारकै सञ्चार माध्यम गोरखापत्रलाई व्यङ्ग्य गर्दै प्रतिवेदन अझै पनि गुप्त राखिएकोमा असन्तुष्टि जनाए।
कांग्रेस दोषी कोही उम्कन नदिने र निर्दोषलाई नफसाउने दृढ संकल्प रहेको बताउँदै आङदेम्बेले भदौको घटनालाई भविष्यको दृष्टिकोणले विश्लेषण गर्नुपर्ने धारणा राखे। ‘जेनजी विद्रोहजस्तो घटना भविष्यमा नहोस् भन्ने सोचविचार गर्न जरुरी छ,’ उनले भने, ‘संसद् भवन २४ गते खरानी भयो। त्यो बेलाको खरानी सम्झेर संकल्प गरौं – यो देशलाई खरानी बनाउन अब कोही अघि नसरौं।’
आङदेम्बेको यो अभिव्यक्तिले जेन–जी आन्दोलनका घटनाको सन्दर्भमा सत्तारूढ दल र प्रतिपक्षीबीचको बहसलाई थप तीव्रता दिएको छ। उनले आयोगको प्रतिवेदनलाई संदिग्ध बनाउँदै भदौ २४ गते संसद् भवन जलाउने घटनाको बेलगाम ध्वंसको पनि गहिरो समीक्षा हुनुपर्ने बताए। उनको यो अडानले कांग्रेसले यी दुबै घटनालाई एकै पङ्क्तिमा राखेर सत्यको खोजी गर्नुपर्ने पक्षमा रहेको स्पष्ट देखिन्छ।





