२० बैशाख २०८३, आईतवार

राष्ट्रिय सभा उपाध्यक्ष पदको निर्वाचन चैत २३ मा हुने

काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्ष पदको निर्वाचन चैत २३ गते सोमबार हुने भएको छ। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बिहीबारको बैठकमा निर्वाचनको मिति तोकेका हुन्।

अध्यक्ष दाहालले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ८ बमोजिम उपाध्यक्ष पदको निर्वाचनका लागि चैत २३ गतेको दिन तय गरिएको जानकारी दिए। उनले संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेलाई निर्वाचन कार्यक्रम सम्बन्धी सूचना प्रकाशित गर्न निर्देशन समेत दिए।

०८० चैत २८ गते उपाध्यक्षमा निर्वाचित राष्ट्रिय सभा सदस्य विमला घिमिरेको पदावधि गत फागुन २० मा सकिएपछि उक्त पदमा निर्वाचन हुन लागेको हो। घिमिरेले चार वर्षको कार्यकाल पूरा गरेपछि उपाध्यक्ष पद रिक्त रहेको थियो। नयाँ उपाध्यक्ष चयनका लागि नियमानुसार निर्वाचन प्रक्रिया अघि बढेको हो।

यस्तै, राष्ट्रिय सभाका विषयगत समितिका रिक्त सभापतिहरूको निर्वाचनका लागि चैत २४ गते मंगलबारको मिति तोकिएको छ। नियमावलीको नियम १५० बमोजिम रिक्त सभापतिहरूको निर्वाचनका लागि अध्यक्ष दाहालले राष्ट्रिय सभाका सचिव तुलबहादुर पाण्डेलाई निर्वाचन कार्यक्रमको सूचना प्रकाशित गर्न निर्देशन दिएका छन्।

राष्ट्रिय सभाको अर्को बैठक २०८२ साल चैत्र २२ गते आइतबार अपराह्न १२ बजेर १५ मिनेटमा बस्ने गरी स्थगित भएको छ। उपाध्यक्ष निर्वाचनको मिति घोषणासँगै सो पदका लागि दलीय समीकरण र छलफलहरू तीव्र बनेका छन्। राष्ट्रिय सभामा विभिन्न दलका सांसदहरूको उपस्थिति रहेकाले उपाध्यक्ष पदका लागि आन्तरिक सहमति कसरी बन्छ भन्ने विषय अहिले चासोको केन्द्र बनेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button