२० बैशाख २०८३, आईतवार

रवि लामिछानेको ऐतिहासिक माफी : ‘शताब्दीयौंको विभेद संगठित अपराध थियो, अब कसैले जातका आधारमा झुक्नु पर्दैन’

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले एउटा ऐतिहासिक घोषणा गरेका छन्। उनले शताब्दीयौंदेखिको जातीय विभेद र अत्याचारको लागि दलित समुदायसहित सबै पीडित समुदायसँग सार्वजनिक रूपमा माफी मागे। ‘अब कुनै पनि नेपाली जातका आधारमा झुक्नु पर्ने छैन,’ उनले भने।

प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै लामिछानेले सरकारको तर्फबाट यो माफी सदनबाटै सार्वजनिक गरे। ‘यो सरकार शताब्दीयौंदेखिको विभेद, अन्याय, अत्याचारको इतिहाससँग पहिलोपटक सामूहिक र सार्वजनिक माफी माग्दैछ यो सदनबाट,’ उनले भने।

उनले विभेदलाई महज ‘सामाजिक गल्ती’ नभई संगठित अपराधको संज्ञा दिए। ‘आजसम्मको विभेद सामाजिक गल्ती थिएन, संगठित अपराध थियो। जसको हातमा सीप थियो, तिनलाई अछुत मान्यौं।’ उनले यस्तो विभेदको जरा गलत सामाजिक मान्यता रहेको र त्यसलाई अब सच्याउनुपर्नेमा जोड दिए।

उनले स्पष्ट शब्दमा भने, ‘अब कुनै पनि नेपाली जातका आधारमा झुक्नु पर्ने छैन। हामी ती समुदायप्रति माफी माग्न चाहन्छौं।’ यसका साथै, उनले माफीको मूल्य अब न्यायले गर्ने पनि बताए। अर्थात, माफी मात्र पर्याप्त नहुने र पीडित समुदायलाई न्याय दिलाउनु सरकारको कर्तव्य रहेको उनले स्पष्ट पारे।

लामिछानेको यो अभिव्यक्तिले सदनमा व्यापक ताली पाएको थियो। उनले उठाएको जातीय विभेदको मुद्दा नेपालको सामाजिक इतिहासमा गहिरो जरा गाडेको विषय हो। यो माफीलाई नेपालको सामाजिक न्यायको यात्रामा एउटा महत्वपूर्ण कोशेढुंगाका रूपमा हेरिएको छ। राजनीतिक विश्लेषकहरूका अनुसार कुनै प्रधानमन्त्री वा सभापतिले सदनबाट यसरी सार्वजनिक रूपमा विभेदको इतिहाससँग माफी माग्नु अभूतपूर्व घटना हो। अब यसलाई व्यवहारमा कसरी कार्यान्वयन गरिन्छ भन्ने विषयले आगामी दिनमा थप बहसको जन्म दिने देखिन्छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button