भारतीय राजदूतको ‘क्रमभंग’ले कूटनीतिक वृत्तमा हलचल

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नयाँ सरकारका मन्त्रीसँग औपचारिक भेटवार्ता गर्ने पहिलो कूटनीतिज्ञ बनेर सबैलाई अचम्ममा पारेका छन्। सामान्यतया नयाँ सरकार बनेपछि कुनै पनि विदेशी राजदूतले पहिले परराष्ट्रमन्त्रीसँग भेट गर्ने चलन हुन्छ। तर राजदूत श्रीवास्तवले सो परम्परालाई उछिन्दै सिधै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर कूटनीतिक ‘क्रमभंग’ गरेका छन्।
राजदूत श्रीवास्तव बिहान ११ बजे नै अर्थमन्त्री वाग्लेलाई भेट्न मन्त्रालय पुगेका थिए। यो नयाँ सरकार गठनपछि कुनै पनि विदेशी राजदूतले गरेको पहिलो औपचारिक मन्त्री भेट हो। तर यो भेटले कूटनीतिक वृत्तमा नयाँ बहस छेडेको छ। मुख्य विवादको विषय बनेको छ– परराष्ट्रमन्त्रीलाई छोडेर अर्थमन्त्रीसम्म कसरी पुगियो?
परराष्ट्रमन्त्री शिशिर खनालले विदेशी कूटनीतिज्ञले पहिले आफूलाई भेट्नुपर्ने बताएको केवल ६ दिनमै भारतीय राजदूत अर्थ मन्त्रालय पुग्नुलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ। परराष्ट्र मन्त्रालयलाई उछिनेर सिधै अर्थ मन्त्रालय पुग्ने राजदूतको यो कदमले दुई मन्त्रालयबीचको मर्यादाक्रम र कूटनीतिक प्रोटोकलबारे तीव्र चासो पैदा गरेको छ।
विश्लेषकहरूका अनुसार भारतीय राजदूतले अर्थमन्त्रीलाई पहिलो भेट दिएर दुई संकेत दिन खोजेको हुन सक्छ। पहिलो, भारतले नेपालको अर्थतन्त्र र व्यापारिक साझेदारीलाई अत्यन्तै प्राथमिकताका साथ हेरेको छ। दोस्रो, कतिपय पुराना कूटनीतिक अभ्यासहरूलाई पुनरावलोकन गर्ने संकेत यो भेटले दिन सक्छ।
तर यो ‘क्रमभंग’ लाई परराष्ट्र मन्त्रालयले औपचारिक रूपमा कसरी लिन्छ भन्ने विषयले भने आगामी दिनमा कूटनीतिक तिक्तता बढ्ने सम्भावना पनि जन्माएको छ। परराष्ट्रमन्त्री खनालले भने यसबारे अहिलेसम्म औपचारिक प्रतिक्रिया दिएका छैनन्। यद्यपि स्रोतका अनुसार मन्त्रालयले कूटनीतिक मर्यादाको विषयलाई संवेदनशीलताका साथ हेरिरहेको छ।
राजदूत श्रीवास्तवको यो कदमले नेपाल–भारत सम्बन्धमा नयाँ शैलीको सुरुवात गरेको छ वा केवल एक पटकको घटना मात्र रहनेछ, त्यो हेर्न बाँकी छ। तर कूटनीतिक वृत्तमा यसले पक्कै पनि ‘नयाँ मापदण्ड’ का बारेमा लामो बहसको जन्म दिएको छ। अब सबको नजर परराष्ट्र मन्त्रालयको प्रतिक्रिया र अर्का विदेशी राजदूतले कसलाई पहिलो भेट गर्छन् भन्नेतर्फ केन्द्रित भएको छ।





