२० बैशाख २०८३, आईतवार

बादलको प्रश्न र गृहमन्त्री सुधनको अस्वभाविक शैलीले ततायो बहस

काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठकमा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले सम्बोधन गर्दा गृहमन्त्री सुधन गुरुङको शैलीले सबैको ध्यान तान्यो। थापाले रास्वपा पहिलो दल बन्नुमा नेपाली सेनादेखि बारबरा फाउन्डेसनसम्मलाई व्यङ्ग्यात्मक बधाई दिँदै गर्दा गृहमन्त्री गुरुङले अस्वभाविक रूपमा हात उठाउँदै प्रतिक्रिया जनाएको दृश्य कैद भएको छ।

थापाले आफ्नो सम्बोधनका क्रममा भदौ २३ र २४ गतेका घटनाको गहिरो प्रश्न उठाए। ‘कुन उद्देश्यका लागि हतियारधारी टीओबीहरू तिलस्मी रूपमा प्रकट भए?’ भन्दै उनले प्रश्न गरे। उनले राष्ट्रिय सम्पत्ति किन जलाइयो भन्ने प्रश्न पनि उठाए। ठीक त्यही क्षण सत्तापक्षको आसनमा बसेका गृहमन्त्री गुरुङले थापातर्फ हेर्दै हात उठाएको देखियो। यो दृश्य संसद रेकर्डिङमा समेत कैद भएको छ।

थापाको सम्बोधनको अर्को चर्चित पक्ष थियो– रास्वपाको विजयप्रति व्यङ्ग्य। उनले नेपाली सेना, ब्युरोक्रेसी, सुशीला सरकार, टीओबी, कार्की आयोग र बारबरा फाउन्डेसनलाई समेत ‘बधाई’ दिँदै भनेका थिए, ‘यो जादूमय विजयका पछाडि यी दृश्य–अदृश्य शक्तिहरूको निर्णायक भूमिका रहेको असंख्य तथ्यले स्पष्ट पार्छन्।’

गृहमन्त्री गुरुङको यो हाउभाउलाई राजनीतिक वृत्तमा दुई दलबीचको बढ्दो तिक्तताको संकेतका रूपमा हेरिएको छ। संसद्मा विपक्षी नेताले उठाएको गम्भीर प्रश्नको उत्तर दिनुको साटो सत्तापक्षको मन्त्रीले ‘हात उठाएर’ देखाएको यो शैली संसदीय मर्यादाको विपरीत भएको टिप्पणी भइरहेको छ।

यद्यपि यो घटनाले संसदको पहिलो बैठकमै सत्तापक्ष र प्रतिपक्षबीचको तिक्ततालाई उजागर गरेको छ। अब यो घटना नियमित संसदीय अभ्यासको एउटा अप्रिय सन्दर्भका रूपमा स्थापित हुने देखिन्छ। राजनीतिक विश्लेषकहरूले दुवै पक्षलाई संसदीय मर्यादा कायम राख्न सुझाव दिएका छन्। थापाले उठाएको गम्भीर प्रश्नको जवाफ संसद्मै जवाफले दिनुपर्ने, हात र व्यङ्ग्यले होइन, उनीहरूको तर्क छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button