रूसी विदेशमन्त्री लाभ्रोभद्वारा नेपाली समकक्षी खनाललाई पत्र : मैत्रीपूर्ण सम्बन्ध थप सुदृढ बनाउने प्रतिबद्धता

काठमाडौं – रूसी संघका विदेशमन्त्री श्री सर्गेई लाभ्रोभले नेपालका नवनियुक्त विदेशमन्त्री श्री शिशिर खनाललाई पत्राचार गर्दै पदस्थापनामा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
रूसी विदेश मन्त्रालयका अनुसार, लाभ्रोभले नेपाल–रूस सम्बन्धको परम्परागत मैत्रीपूर्ण स्वरूपलाई विशेष रूपमा उल्लेख गर्दै यस्तो सम्बन्ध दुवै देशको जनताको हितमा रहेको स्पष्ट पारेका छन्।
पत्रमा विदेशमन्त्री लाभ्रोभले भनेका छन् : “रूस–नेपाल सम्बन्ध परम्परागत रूपमा मैत्रीपूर्ण छ। दुई देशको सहकार्यलाई थप सुदृढ बनाउँदै हाम्रा जनताको हितमा अघि बढ्ने हाम्रो तयारी छ।”
उनले नेपाली विदेशमन्त्री खनाललाई स्वस्थ जीवन र उच्च जिम्मेवारीको पदमा सफलताको शुभकामना समेत दिएका छन्। लाभ्रोभको यो पत्रले दुई देशबीचको कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाउने संकेत दिएको छ।
रूसले नेपालसँगको ऐतिहासिक सम्बन्धलाई निरन्तरता दिँदै आर्थिक, शैक्षिक र सांस्कृतिक क्षेत्रमा सहकार्य अघि बढाउने प्रतिबद्धता जनाउँदै आएको छ। यो पत्रचारले हालै सरकार परिवर्तनपछि नेपाल–रूस सम्बन्धका लागि सकारात्मक सन्देश दिएको छ।





