अमेरिकाबाट लागुऔषध अभियुक्त चिनियाँ नागरिक पहिलो पटक चीन प्रत्यार्पण

बेइजिङ । चिनियाँ प्रहरीले शुक्रबार लागुऔषधसम्बन्धी अपराधमा संलग्न एक चिनियाँ फरार अभियुक्तलाई संयुक्त राज्य अमेरिकाबाट स्वदेश फिर्ता ल्याएको जनाएको छ। यो हालका वर्षहरूमा अमेरिकाले लागुऔषधसम्बन्धी अभियुक्तलाई चीनलाई प्रत्यार्पण गरेको पहिलो घटना हो। चीनको सार्वजनिक सुरक्षा मन्त्रालयले यसलाई चीन–अमेरिका लागुऔषध विरोधी कानून प्रवर्तन सहकार्यको नयाँ उपलब्धिको रूपमा उल्लेख गरेको छ।
फरार अभियुक्तको उपनाम ‘हान’ हो। उनी लागुऔषध तस्करी र ओसारपसारको शंकामा प्रत्यार्पित गरिएको सार्वजनिक सुरक्षा मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार, चीनको लागुऔषध नियन्त्रण प्राधिकरणले उपलब्ध गराएको सुराकको आधारमा अमेरिकी आप्रवासन तथा भन्सार प्रवर्तन (आईसीई) ले अध्यागमन प्रवर्तन सहकार्य मार्फत अभियुक्त हानलाई चिनियाँ पक्षलाई प्रत्यार्पण गरेको हो।
यो प्रत्यार्पणले अन्तर्राष्ट्रिय लागुऔषध अपराध विरुद्धको साझा लडाइमा दुई ठूला शक्तिबीचको सहकार्यको नयाँ आयाम देखाएको छ। पछिल्ला वर्षहरूमा चीन र अमेरिकाबीच लागुऔषध नियन्त्रणका विषयमा विभिन्न तहमा छलफल तथा समन्वय हुँदै आएको थियो। यो प्रत्यार्पणले आगामी दिनमा यस क्षेत्रमा थप सहकार्यको मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ। चिनियाँ सरकारले लागुऔषध तस्करी र ओसारपसारलाई अत्यन्तै गम्भीर अपराधको रूपमा लिन्छ। फरार अभियुक्तहरूलाई स्वदेश फिर्ता ल्याउने यो प्रयास निरन्तर रहने सार्वजनिक सुरक्षा मन्त्रालयले स्पष्ट पारेको छ।





