चार अर्बको सहकारी बचत हिनामिना : अध्यक्षसहित चार जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोरखा सेभिङ एण्ड क्रेडिट सहकारीका अध्यक्ष इमानसिंह राईसहित चार जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा सीईओ लालबहादुर क्षेत्री, अविनकुमार राई र पूर्व लेखा सदस्य कर्णबहादुर राई रहेको प्रहरीले जनाएको छ।
उक्त सहकारीमा १० हजारभन्दा बढी बचतकर्ताको ४ अर्ब रुपैयाँभन्दा बढी रकम जम्मा भएकोमा करिब १ अर्ब ४९ करोड रुपैयाँ मात्रै ऋण तथा लगानीमा देखिएको छ। बाँकी रकमको कुनै स्पष्ट विवरण नहुँदा हिनामिना भएको आशंका गरिएकाले नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।
यसैगरी, कुलेश्वरस्थित गौतमश्री बहुउद्देश्यीय सहकारीका व्यवस्थापक रवीन बिष्ट पनि पक्राउ परेका छन्। उक्त सहकारीमाथि बचतकर्ताको साढे ५ अर्बभन्दा बढी ठगी गरेको आरोप रहेको छ।
प्रहरीका अनुसार दुवै सहकारीमा थप अनुसन्धान सुरु गरिएको छ। सहकारी बचतकर्ताहरू लामो समयदेखि आफ्नो पैसा माग्दै आएका थिए तर कुनै सुनुवाई नभएपछि प्रहरीमा उजुरी परेको थियो। अहिले पक्राउ परेसँगै बचतकर्ताहरूमा राहतको सञ्चार भएको छ। तर, हराएको रकम फिर्ता हुने अवस्था भने अझै स्पष्ट भइसकेको छैन। सहकारी क्षेत्रमा देखिएको यो घटनाले पटकपटक सहकारी ठगी हुँदा समेत नियामक निकाय बेखबर देखिएकोप्रति गम्भीर प्रश्न उठेको छ। अब प्रहरीले अनुसन्धानलाई कसरी अगाडि बढाउँछ र बचतकर्तालाई न्याय दिन्छ भन्ने विषयले सहकारी क्षेत्रको भविष्य नै तय गर्ने देखिन्छ।





