२० बैशाख २०८३, आईतवार

‘गणतन्त्रको मुटु’ अब डिजिटल : सर्वोच्चको संवैधानिक इजलासको वेब पोर्टल सुरु

काठमाडौं । सर्वोच्च अदालतले संवैधानिक इजलासका लागि ‘वेब पोर्टल’ सुरु गरेको छ। कागजका फाइल हराउने, मिसिल जल्ने र वर्षौंसम्म फैसला नआउने गरेको अवस्थामा अब परिवर्तन हुने अपेक्षा गरिएको छ। कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले उक्त पोर्टल उद्घाटन गर्दै संवैधानिक इजलासलाई ‘गणतन्त्रको मुटु’ को संज्ञा दिएकी छन्। ढिलाइ र प्रक्रियागत झन्झटले इजलासमा विलम्बको अवस्था देखिँदै आएको थियो।

संवैधानिक इजलासमा हाल २८२ भन्दा बढी मुद्दा विचाराधीन छन्। ती मध्ये केही आठ वर्ष पुराना छन् भने पाँच वर्ष नाघेका मुद्दा छ दर्जन बढी छन्। कायममुकायम प्रधानन्यायाधीश मल्लले अब हप्तामा दुई दिन अनिवार्य इजलास बस्ने र ‘हेर्न नमिल्ने’ भन्दै स्थगित गर्ने पुरानो चलन तोड्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। निर्वाचनसम्बन्धी विवादलाई पनि प्राथमिकतामा राखिने उनले बताइन्। उनको भनाइ छ, ‘पदावधि सकिएपछि आउने फैसला अर्थहीन हुन्छ।’

अदालतले अब महत्वपूर्ण मुद्दामा ‘लाइभ स्ट्रिमिङ’ को योजना समेत बनाएको छ। सर्वोच्चमा अहिले फैसला हुन बाँकी २७ हजारभन्दा बढी मुद्दा रहेको तथ्यांक छ। यस डिजिटल पोर्टलले पुरानो कागजात प्रणालीलाई विस्थापित गर्दै न्याय प्रक्रियालाई छिटो, सहज र पारदर्शी बनाउने आशा गरिएको छ। तर, यो प्रणाली पूर्ण रूपमा कार्यान्वयन हुन पनि न्यायाधीशदेखि कर्मचारीसम्मको मानसिकता र सीप परिवर्तन आवश्यक रहेको छ। अब हेर्नु छ, ‘गणतन्त्रको मुटु’ ले वर्षौंदेखि थलिएको न्याय प्रणालीलाई नयाँ जीवन दिन सक्छ कि सक्दैन।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button