काठमाडौंको रुसी सदनमा ‘रुसमा नेपाल अध्ययन’ गोष्ठी सम्पन्न
देवकोटाको मस्को यात्रादेखि बोल्सोइ थिएटरको २५०औं वार्षिकोत्सवसम्म, ७० वर्षे कूटनीतिक सम्बन्धको उत्सवमा सांस्कृतिक साझेदारीको प्रतिबद्धता

काठमाडौं । काठमाडौंस्थित रुसी सदनमा अप्रिल ७ का दिन ‘रुसमा नेपाल अध्ययन’ विषयक एकदिने विचार गोष्ठी सम्पन्न भएको छ। नेपाल र रुसबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सवको अवसरमा आयोजित उक्त कार्यक्रम नाटककार एवं त्रिभुवन विश्वविद्यालयका प्राध्यापक महेश पौड्यालको पहलमा शैली थिएटरद्वारा आयोजित गरिएको थियो। यस गोष्ठीले दुई देशबीचको सुदृढ र दीर्घकालीन साझेदारीलाई पुष्टि गर्दै सांस्कृतिक, प्राज्ञिक र शैक्षिक सहकार्यका सम्भावनाहरूमाथि छलफलको मञ्च प्रदान गरेको छ।
कार्यक्रमका विशेष अतिथि नेपालस्थित रुसी महासङ्घका कार्यवाहक राजदूत रिनचेन रक्षायेभले रुसमा नेपाल अध्ययनको इतिहासमाथि प्रकाश पार्दै द्विपक्षीय सम्बन्ध सुदृढ गर्न सांस्कृतिक तथा प्राज्ञिक सहकार्यको महत्त्वमा जोड दिए। मुख्य वक्ताका रूपमा रहेका रुसका लागि पूर्व नेपाली राजदूत, काठमाडौं विश्वविद्यालयका प्राध्यापक, लेखक तथा अनुवादक जङ्गब चौहानले दुई देशबीचको सांस्कृतिक तथा प्राज्ञिक सम्बन्ध, वर्तमान अनुसन्धान र महाकवि लक्ष्मीप्रसाद देवकोटाको ऐतिहासिक मस्को भ्रमणबारे प्रभावकारी विवरण प्रस्तुत गर्दै यसलाई सांस्कृतिक कूटनीतिको महत्त्वपूर्ण घटना भएको बताए।

उनले रुसमा चिकित्सा, इन्जिनियरिङ, व्यवस्थापनलगायत विधामा अध्ययन गरेका नेपाली विद्यार्थीहरूको राष्ट्रिय विकासमा रहेको योगदानको पनि चर्चा गरे। आफ्नो प्राज्ञिक र कूटनीतिक अनुभवका आधारमा चौहानले साहित्य, शिक्षा र वैज्ञानिक आदानप्रदानलाई पारस्परिक समझदारी र दीर्घकालीन नेपाल–रुस सम्बन्धको जगका रूपमा व्याख्या गरे।
शैली थिएटरका प्रमुख नवराज बुढाथोकीले रुसी सदनसँगको १७ वर्षे सहकार्यको स्मरण गर्दै थिएटरले मञ्चन गरेका रुसी नाटकहरूको प्रस्तुति दिए। आफ्नो प्रस्तुतीकरणका क्रममा उनले रुसी लेखकहरूका कृतिमा आधारित दर्जनभन्दा बढी नाटकहरू मञ्चन भएको जानकारी दिँदै सांस्कृतिक आदानप्रदानको सशक्त माध्यमका रूपमा रङ्गमञ्चलाई चित्रण गरे। बुढाथोकीले बोल्सोइ थिएटरको २५०औं वार्षिकोत्सवका अवसरमा हुने कार्यक्रमहरूसहित नयाँ प्रस्तुति र कलात्मक सहकार्यमार्फत साझेदारीलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरे।

अन्त्यमा रुसी सदनकी निर्देशक अनास्तासिया खोख्लोभाले रुसी विज्ञान प्रतिष्ठानको प्राच्य अध्ययन संस्थानअन्तर्गतको हिमालय अध्ययन केन्द्रले आयोजना गर्ने वार्षिक सम्मेलनको चर्चा गर्दै नेपाली अनुसन्धानकर्ताहरूलाई सहभागिताका लागि निम्तो दिइन्। उनले वक्ताहरूलाई धन्यवाद ज्ञापन गर्दै शैक्षिक र सांस्कृतिक आदानप्रदानको विकासप्रति रुसी सदनको प्रतिबद्धता दोहोर्याउँदै यस्ता कार्यक्रमहरूको निरन्तरताको अपेक्षा व्यक्त गरिन्।
गोष्ठीका सहभागीहरू अनुसन्धानकर्ता, नेपाली विश्वविद्यालय तथा कलेजका प्राध्यापकहरू र साहित्यिक समुदायका प्रतिनिधिहरुलाई नेपालसँगको सहकार्य तथा मैत्री समाजका प्रतिनिधि दिपेश दाहालले भिडियो सन्देशमार्फत स्वागत गरेका थिए। उक्त कार्यक्रमलाई एक दर्जनभन्दा बढी स्थानीय सञ्चारमाध्यमले व्यापक रूपमा कभरेज गरेका थिए।





