‘दाइजो लिनु र दिनु मात्र होइन, सहभागी हुनु पनि अपराध’ : उपसभामुख ठाकुर

काठमाडौं, — उपसभामुख रुविकुमारी ठाकुरले विवाहको निमन्त्रणापत्रमै ‘दाईजाे मुक्त विवाह’ भन्ने स्पष्ट सन्देश समावेश गर्नुपर्ने बताएकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफूले हालसम्म प्राप्त गरेका अधिकांश विवाहका निमन्त्रणापत्रहरूमा यस्तो उल्लेख नदेखिएको भन्दै नेपाली समाज अझै पनि दाइजो प्रथाबाट पूर्णरूपमा मुक्त हुन नसकेको टिप्पणी गरेकी छन्।
उपसभामुख ठाकुरले सामाजिक सञ्जालमा लेखेकी छन्, “दाइजो लिनु वा दिनु मात्र होइन, दाइजोमा आधारित विवाहलाई स्वीकार गर्नु, त्यस्ता कार्यक्रममा सहभागी हुनु वा भोजग्रहण गर्नु समेत सामाजिक रूपमा अस्वीकार्य र कानुनी रूपमा दण्डनीय अभ्यास हो। यस्तो प्रथाले महिलाको सम्मान, समानता र अधिकारमाथि प्रत्यक्ष आघात पुर्याउँछ।”
उनले दाइजो लेनदेन हुने विवाहमा आफू सहभागी नहुने स्पष्ट धारणा व्यक्त गरेकी छन्। साथै, उनले सबै नागरिकलाई दाईजाेमुक्त, समानतामा आधारित र सुसंस्कृत विवाहको अभ्यास गर्न आग्रह गरेकी छन्।
उपसभामुख ठाकुरले विवाहको निमन्त्रणापत्रमै “दाईजाे मुक्त विवाह, दाइजो लिनु र दिनु सामाजिक तथा कानुनी अपराध हो” भन्ने सन्देश अनिवार्य रूपमा समावेश गरी पठाउन समेत सबैलाई अनुरोध गरेकी छन्।





