रास्वपाद्वारा संसदीय समिति सभापतिका लागि उम्मेदवारको टुङ्गो
सार्वजनिक लेखा समितिको नेतृत्व कांग्रेसलाई

काठमाडौं, — सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सङ्घीय संसद् अन्तर्गतका विभिन्न संसदीय समितिहरूको सभापतिका लागि आफ्ना उम्मेदवारहरूको नाम टुङ्गो लगाएको छ। बिहीबार बसेको संसदीय दलको बैठकले समितिगत रूपमा उम्मेदवारहरूको नामावली तय गरेको हो।
पार्टी स्रोतका अनुसार कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिका लागि समीक्षा बाँस्कोटाको नाम प्रस्ताव गरिएको छ। यसैगरी, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोक चौधरी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल, महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थी र राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकालको नाम टुङ्गो लगाइएको छ।
त्यस्तै, सङ्घीय संसद्का दुई संयुक्त समितिहरूमध्ये संसदीय सुनुवाइ समितिको सभापतिका लागि बोधनारायण श्रेष्ठ र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिका लागि गणेश कार्कीको नाम प्रस्ताव गरिएको छ।
यसबाहेक, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सुम्निमा उदास, अर्थ समितिमा कृष्णहरि बुढाथोकी, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रहबर अन्सारी र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ओजस्वी शेरचनलाई उम्मेदवार बनाउने निर्णय भएको छ।
रास्वपाले भने सार्वजनिक लेखा समितिको सभापति भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई दिने नीतिगत निर्णय गरेको छ।
सङ्घीय संसद्मा कूल १६ वटा संसदीय समितिहरू रहेका छन्। जसमध्ये प्रतिनिधिसभा अन्तर्गत १० वटा विषयगत समिति, राष्ट्रिय सभा अन्तर्गत ४ वटा विषयगत समिति र दुई वटा संयुक्त समिति रहेका छन्। राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति र संसदीय सुनुवाइ समिति संयुक्त समितिका रूपमा रहेका छन्।





