१२ बैशाख २०८३, शनिबार

वैदेशिक रोजगार ठगीमा संलग्न ३४६ भन्दा बढीको नाम सार्वजनिक, अब हरेक तीन दिनमा विवरण अपडेट गरिने

काठमाडौं, वैशाख ३ — वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने व्यक्तिहरूको नाम तथा विवरण सार्वजनिक गरेको छ। नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहको निर्देशन अनुसार विभागले व्यक्तिगत रूपमा ठगी गर्नेहरूको विवरण सार्वजनिक गरेको हो।

विभागले सार्वजनिक गरेको सूची अनुसार २०८२ फागुन १७ गतेदेखि २०८२ चैत १७ गतेसम्मको एक महिनाको अवधिमा ठगी गर्ने ३४६ भन्दा बढी व्यक्तिको नाम सार्वजनिक गरिएको छ। विभागको अनुसन्धान तथा मुद्दा शाखामा व्यक्तिगत रूपमा ठगी गरेका तथा वैदेशिक रोजगार सम्बन्धी कसूर मुद्दामा जाहेरी परेका प्रतिवादीहरूको सूची सार्वजनिक गरिएको हो।

विभागले अबदेखि हरेक तीन/तीन दिनमा दर्ता भएका मुद्दाको विवरण आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्ने जनाएको छ। जसमा प्रतिवादीहरूको नाम, ठेगाना र विगो रकम उल्लेख गरिनेछ। सोही आधारमा पहिलो पटक एक महिनाभरमा परेको ठगीका उजुरीहरूमा समावेश गरिएको प्रतिवादीहरूको विवरण सार्वजनिक गरिएको विभागले जानकारी दिएको छ।

विभागका अनुसार उक्त सूचीमा समावेश व्यक्तिहरूले युरोप, खाडी क्षेत्र, मलेसियालगायत विभिन्न मुलुकमा रोजगारीमा पठाइदिने भन्दै पीडितहरूबाट रकम असुल गरेका थिए। विभागले उनीहरूविरुद्ध वैदेशिक रोजगार न्यायाधीकरणमा मुद्दा दर्ता गर्ने प्रक्रिया अगाडि बढाएको छ।

वैदेशिक रोजगार विभागले ठगी नियन्त्रण तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले उक्त विवरण सार्वजनिक गरेको जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button